हिमालयन बैंक र सिभिल बैंकबीचको मर्जर बार्गेनिङ निश्कर्षमा

१ बर्ष अगाडि

काठमाडौं - लामो समयदेखि चलिरहेको हिमालयन बैंक र सिभिल बैंकबीचको मर्जर बार्गेनिङ निश्कर्षमा पुगेको छ । 

सिभिल बैंकका एक सञ्चालकका अनुसार आज साँझदेखि बसेको दुई बैंकको मर्जर कमिटीका सदस्य तथा सञ्चालकहरुको बैठकले लामो समयदेखिको गाँठो फुकाल्दै मर्जरमा जाने विषयमा सहमति कायम गरेको हो । 

नयाँ सहमतिअनुसार अब हिमालयन बैंकले सिभिल बैंकलाई १००ः८० को सेयर स्वाप अनुपातमा मर्जर गर्नेछ । सिभिल बैंकले पछिल्लो समय भाउ कसेपछि हिमालयन बैंकसँगको मर्जर छलफल टुंगोमा पुग्न सकेको थिएन । 

सिभिलले हिमालयनसँग ८५ को सेयर स्वाप अनुपातमा लामो समयसम्म बार्गेन गरेको थियो । पछिल्लो समय सिभिलको बित्तीय सूचकहरुमा तीव्र सुधार भएका कारण उसले ८५ को सेयर स्वाप माग्नुलाई आफूहरुको स्वभाविक डिमाण्ड भनेको थियो । हिमालयन बैंकले भने सिभिललाई ७५ सम्ममा मर्ज गर्न चाहेको थियो । 

तर, सिभिलले आफ्नो अडान नछाडेपछि कुनै न कुनै बैंकसँग मर्जरमा जानैपर्ने बाध्यतामा रहेको हिमालयनले ८० स्वाप दिन तयार भएको हो । नेपाल इन्भेष्टमेन्टसँगको मर्जर अन्तिम अवस्थामा टुटपछि हिमालयन बैंक कुनै न कुनै बैंकसँग मर्जरमा जानुपर्ने बाध्यतामा थियो । 

मर्जर टुटेपछि इन्भेष्टमेन्ट र हिमालयनलाई राष्ट्रबैंकले कारबाही समेत गरेको थियो । इन्भेष्टमेन्ट बैंकले हालै मेगा बैंक लिमीटेडसँग मर्जर सम्झौता गरिसकेको छ ।

हिमालयन र सिभिल बैंकमा पछिल्लो समय दुवैतर्फ राम्रो सेयर स्वामित्व रहेको कर्मचारी सञ्चयकोषले निर्णायक भूमिका खेलेको स्रोतहरु दाबी गर्छन् । 

हिमालयन बैंकका एक सञ्चालकले सेयर स्वापमा सिभिलसँग कुरा मिलेको पुष्टि गर्दै मर्जरको औपचारिक सम्झौता चाँडै हुने दाबी गरे । 

१ बर्ष अगाडि

प्रतिक्रिया