काठमाडौं - कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स ९एनसीसी० बैंकबीचको मर्जर सम्झौतालाई नेपाल राष्ट्र बैंकले सैद्धान्तिक स्वीकृति दिएको छ ।
कुमारी र एनसीसी बैंकबीच गत असोज १० गते सोमबार बराबरी हैसियतमा मर्जरमा जाने सम्झौतामा हस्ताक्षर भएको थियो । पुस मसान्तभित्रमा मर्जर प्रक्रिया टुङ्याउने तरारीमा रहेका दुवै बैंकलाई राष्ट्र बैंकले शुक्रबार सैद्धान्तिक स्वीकृति दिएको हो ।
अब बैंकहरुले आ आफ्नो विशेष साधारणसभाबाट मर्जर एजेण्डा पारित गरेर अन्तिम स्वीकृतिका लागि राष्ट्र बैंक जाने छन् । पुस मसान्तअघि एकिकृत कारोबार सुरु गर्ने दुबै बैंकको तयारी छ ।
चालु आर्थिक वर्षको पुससम्म मर्जरमा गई एकीकृत कारोबार गर्ने बैंकहरुले थप एक वर्षको सहुलियत पाउने छन्। नेपाल राष्ट्र बैंकले मर्जर भई एकीकृत कारोबार गर्ने अवधि गत असारसम्म रहेकोमा थप गरी २०७९ पुस मसान्तसम्म कायम गरेकाले पनि बैंकहरुले एकिकृत कारोबार पुसभित्र गर्न चाहेका छन् ।
प्रारम्भिक सम्झौता अनुसार दुई बैंक एक बराबर एक अनुपातमा मर्जरमा जाने भएका हुन् । हाल कुमारी बैंकको चुक्ता पुँजी १४ अर्ब ७१ करोड ११ लाख रुपैयाँ छ । एनसीसी बैंकको चुक्ता पूँजी ११ अर्ब १३ करोड ९६ लाख रुपैयाँ छ । दुई बैंक गाभिएपछि चुक्ता पुँजी २५ अर्ब ८५ करोड हुनेछ।
मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल हुने छन् । कुमारीका रामचन्द्र खनाल वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत हुने छन् । मर्जरपछि बैंकको नाम कुमारी बैंक हुने छ ।
प्रतिक्रिया