प्रतिबन्ध लागेको प्याराग्लाइडिङ उडान आजदेखि पुनः सुरु, यस्ता छन् मापदण्ड

१ बर्ष अगाडि

काठमाडौं - दुर्घटनामा एक खेलाडीको ज्यान गएसँगै प्रतिबन्ध लागेको प्याराग्लाइडिङ उडान शनिबारदेखि पुनः सुरु हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्याराग्लाइडिङ उडानमा लगाएको प्रतिबन्ध ५ दिनमै हटाएको हो । 

अब योसँगै आज (शनिबार) देखि प्याराग्लाइडिङ खुल्नेछ । प्राधिकरणले प्याराग्लाइडिङ उडान सञ्चालनका लागि ५ वटा मापदण्ड पनि तोकेको छ । 

गत असोज ३० गते पोखरामा, नबौं राष्ट्रिय खेलकुदको क्रममा त्रिभुवन आर्मी क्लबका खेलाडी निसिम थापाको प्याराग्लाइडिङ अवतरणका क्रममा मृत्यु भएको थियो । सो घटनापछि प्राधिकरणले देशभरका प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द गरेको थियो ।

घटनापछि प्याराग्लाइडिङ उडानलाई सुरक्षित र व्यवस्थित बनाउन प्राधिकरणले गत बुधबार उपमहानिर्देशक हंशराज पाण्डेको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको थियो । सो समितिको प्रतिवेदनपछि नै प्राधिकरणले ५ वटा शर्तसहित प्याराग्लाइडिङ उडान खुलाउने निर्णय गरेको हो । 

प्राधिकरणले तोकेको ५ मापदण्ड यस्ता छन्

१. प्याराग्लाइडिङ उडानलाई थप नियमित सुरक्षित तथा व्यवस्थित बनाउन प्राधिकरणले व्यावसायिक रूपमा उडान गर्न उपलब्ध गराएको उडान क्षेत्रभित्र व्यवसायिक उडानबाहेक अन्य उडान गतिविधि गराउन पाइने छैन ।

२. आगामी १५ दिनभित्र हवाइ खेलकुद संघ, नेपालबाट प्याराग्लाडिङ उडानको लाइसेन्स लिएका सबै पाइलटले प्राधिकरणले तोकेको मेडिकल लेभल–२ र मनोवैज्ञानिक अवस्थाको समेत परीक्षण गर्नुपर्ने व्यवस्था गरिएको छ ।
३. व्यावसायिक उडानमा संलग्न पाइलटहरूले प्राधिकरणको स्वीकृतिमा एकै किसिमको पोसाक लगाउनुपर्ने र उक्त पोसाकमा कम्पनी एवं पाइलटको नाम स्पष्ट देखिनु पर्नेछ ।

४. व्यावसायिक उडानमा प्रयोग हुने ग्लाइडरहरूको १५ दिन भित्रमा प्राधिकरणका ‘एयर–वर्दिनेस इन्सपेक्टर’को रोहबरमा परीक्षण गराई योग्य ग्लाइडरहरूलाई मात्र व्यावसायिक उडान अनुमति दिने ।

५. पाइलटको ‘रिफ्रेसर एड्भान्स्ड ट्यान्डेम एस।आइ।भी।’ तथा आपतकालीन अवस्थामा ‘ट्यान्डेम रेस्क्यु’ उपयोग गर्ने प्रयोगात्मक तालिम वर्षको एकपटक गर्ने ।

१ बर्ष अगाडि

प्रतिक्रिया