इन्टरनेट सेवा प्रदायकहरुले भने : जुनसुकै बेला सेवा अवरुद्ध हुनसक्छ

सोमबार, १८ पुस २०७९, १७ : ४९

 

 काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरुले जुनसुकै समयमा इन्टरनेट सेवा रोकिन सक्ने चेतावनी दिएका छन् ।

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान)ले सोमबार पत्रकार सम्‍मेलन गर्दै नेपाल विधुत  प्राधिकरणले पोल भाडामा एकतर्फी मनोमानी गरेको भन्दै इन्टरनेट सेवा रोकिने चेतावनी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै आइएसपानका अध्‍यक्ष सुधिर पराजुलीले भने, ‘विद्युत प्राधिकरणले मोनोपोली देखाए हामी इन्टरनेट हड्ताल गर्न पनि पछि पर्दैनौं । इन्टरनेट जुनसुकै बेला अवरुद्ध हुन सक्छ । हाम्रो तालाचाबी प्राधिकरणमा बुझाउँछौं ।’

विधुत प्राधिकरणले काठमाडौँ विराटनगर, इनरूवा, काँकरभिट्टा, गौरीगञ्ज, पोखरा, धरान, खोटाङ, सुर्खेत, कैलाली, बुटवल, टीकापुर, अत्तरिया, भैरहवा, डोटी, ललितपुर, धनकुटा, दुहवीमा इन्टरनेट सेवा प्रदायकहरुको तार काटिएको  आइएसपानका अध्‍यक्ष पराजुलीले दाबी गरे ।

उनले भने, ‘प्राधिकरणले कुनै समन्वयन नै नगरी इन्टरनेट फाइबर तार देशैभर काटिएको छ, यो त प्राधिकरणको दादागिरी भयो। हामी यो एकाधिकार कहिलेसम्म सहने रु अब सहन्नौ।’

प्राधिकरणले भाडाकै निुहँमा पटक पटक इन्टरनेट सेवा प्रदायकहरुको डेटा सेन्टर, अपरेशनल पोइन्ट, इन्टरनेट सेवा प्रवाह गर्ने फाइबर, तार काटिदिएको भन्दै आइस्पानले आक्रोश व्यक्त गरेको छ ।

दुई वटा आयोगको प्रतिवेदनमा प्राधिकरणले आव २०७५–७६, २०७६–७७ को भाडा घटेको दर रेटमा लिनुपर्ने र नयाँ भाडादर सूचना तथा प्रसारण विभाग, नेपाल विद्युत प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र नेपाल दूरसञ्चार प्राधिकरणका प्रतिनिधिहरु बसी निर्क्योल गर्नुपर्ने भनिएता पनि प्राधिकरणले आफूखुशी भाडादर कायम राखेको र सेवाप्रदायकलाई यो भाडादर अनुसार नै रकम तिर्न दबाब दिइरहेको संघले जानकारी दिएको छ।

यसका साथै इन्टरनेट ठप्प हुनबाट जोगाउन, मानव अधिकार स्थापित गर्न, उपभोक्ताको हकहित संरक्षण गर्न सरकार सम्बन्धित मन्त्रालयहरु, निकायहरु, मानव अधिकार (राष्ट्रियरअन्तराष्ट्रिय) आयोगलाई तत्काल हस्तक्षेत्रकारी भूमिका निर्वाह गर्नसमेत आइएसपानले विज्ञप्तिमार्फत अपील गरेको छ ।

इन्टरनेट सेवा प्रदायकहरुले विजुलीको पोल प्रयोग गरी आफ्नो सेवा दिँदै आएका छन् । त्यस बापत  प्राधिकरणलाई निश्चित शुल्क तिर्ने गरेका छन् । तर प्राधिकरण र इन्टरनेट सेवा प्रदायकबीच केही वर्षयता विवाद बढ्दो छ ।

प्राधिकरणले पोल भाडा बढाएको छ भने इन्टरनेट सेवा प्रदायकले समयमा बक्यौता नतिरेको भन्दै लाइन काटिदिने चेतावनी दिँदै आएको छ ।

सोमबार, १८ पुस २०७९, १७ : ४९

प्रतिक्रिया