काठमाडौँ - हुलाक टिकटमा अङ्कित दक्षिण एसियाको पहिलो नमुना सामुदायिक होमस्टे सिरुबारीले रजत जयन्ती मनाउने तयारी गरेको छ ।
वि.सं. २०५४ सालमा स्थापना भएको ग्रामीण पर्यटकीय गाउँ सिरुबारी होमस्टेले यही फागुन ५ गते र ६ गते २५औँ वर्षगाँठको उपलक्ष्यमा रजत वर्ष मनाउने तयारी गरेको सिरुबारी पर्यटन विकास समितिका अध्यक्ष जितेन्द्र गुरुङले बताए ।
रजत जयन्तीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, गण्डकी प्रदेश सरकारका मन्त्रीलगायत विशिष्ट पाहुनाहरू पुग्ने सिरुबारी पर्यटन समितिले जानकारी दिएको छ ।
स्वदेशी तथा विदेशी पाहुनालाई गाउँमा भित्राएर गुरुङ सभ्यता तथा संस्कृति विश्वभर प्रचारप्रसार गर्नुको साथै गाउँलाई आर्थिक रूपमा समृद्ध बनाउने सोचमा क्याप्टेन स्व। रुद्रमान गुरुङले स्थापना गरेका थिए ।
स्व। गुरुङले २०३५ सालमा होमस्टेको अवधारणा अगाडि सारेका थिए । सबै पूर्वाधार बनाएर १९ वर्षपछि विधिवत् रूपमा सञ्चालनमा आएको थियो ।
प्रकृतिको सुन्दरताले भरिएको सिरुबारी समुद्र सतहबाट एक हजार छ सय मिटरको उचाइमा रहेको भने पोखराबाट सिद्धार्थ राजमार्ग हुँदै २० किलोमिटर दक्षिण नागडाडाँबाट १५ किलोमिटर पश्चिमतिर यात्रा गरेपछि पुगिन्छ ।
पवित्र तीर्थस्थल डहरे देउराली पहाड र स्याङ्जा जिल्लाकै अग्लो थुम्रो पहाडको काखमा सिरुबारी गाउँ रहेको छ भने थुम्रोमा पर्यटक भित्राउनका लागि भ्यूटावर पनि निर्माण गरिएको छ ।
टावरबाट अन्नपूर्ण, धवलागिरि, माछापुच्छ्रे जस्ता हिमाल र पोखरा, पाल्पाको श्रीनगर डाँडाको मनमोहक दृश्य देखिने गर्दछ । यहाँ पाहुना वा लाहुरे घर बिदामा आउँदा, विवाह, व्रतबन्धमा फूलमालाले स्वागत गर्दै बाजा बजाएर रमाइलो गर्ने प्रचलन छ ।
यहाँ पाहुनालाई सिरुबारी गाउँको बारेमा जानकारी गराएर राति घाटु, सोरठी, सालैजो, झोडा, झ्याउरे, भदौरे भाका, भजन चुड्का जस्ता सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गर्ने प्रचलन छ ।
गुचमुच्च परेका ढुङ्गाले छाएको घर, ढुङ्गाको आँगन, ढुङ्गाको पर्खालको कलात्मकताले सिरुबारी जाने हरेक पर्यटकलाई लोभ्याउने गर्दछ ।
यहाँ बुद्ध धर्म मान्नेको बाहुल्यता रहे पनि हिन्दु धर्मप्रति समान आस्था रहेको छ । गाउँको मुख्य पेसा कृषि र पशुपालन भए तापनि अधिकांश युवा भारतीय र बेलायती सेना तथा वैदेशिक रोजगारका लागि खाडी तथा युरोपमा रहेका छन् ।
आँधीखोला गाउँपालिका १ पञ्चमूलमा ४३ घरहरूबाट सुरुवात भएको होमस्टेमा अहिले अहिले २२ घरधुरीले सेवा दिइरहेको समितिका अध्यक्ष गुरुङले बताए ।
सिरुबारीले राष्ट्रिय घरेलु उद्यमी पुरस्कार २०४७, राष्ट्रिय युवा वन पुरस्कार २०५०, राष्ट्रिय वन पुरस्कार २०५२, पहाडी क्षेत्र विकास पुरस्कार (एक लाख) २०६२ जस्ता सम्मान तथा पुरस्कार पाएको छ ।
प्रतिक्रिया