काठमाडौँ- उपयुक्त जग्गा अभावमा १० वर्षदेखि बागलुङमा चारपांग्रे सवारीसाधन चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालनमा आउन सकेको छैन । धौलागिरि यातायात व्यवस्था कार्यालयका अनुसार उपयुक्त जग्गा अभावमा १० वर्षदेखि रोकिएको लाइसेन्स परीक्षा (ट्रायल) का लागि आवश्यक जग्गा भाडामा भए पनि लिन खोजिएको छ ।
मापदण्डअनुसारको उपयुक्त जग्गा भाडामा लिएर चारपांग्रे सवारीको लाइसेन्स परीक्षा लिने व्यवस्था गर्न यातायात व्यवस्था कार्यालय क्रियाशील छ ।
नयाँ मापदण्ड लागू भइसकेपछि यातायात व्यवस्था कार्यालय बागलुङले लिँदै आएको चारपांग्रे र दुईपांग्रे सवारीको चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा स्थगन गरियो । पछि दुईपांग्रे सवारीसाधनको लागि भाडामा जग्गा लिएर ट्रायल परीक्षा सञ्चालन गरे पनि चारपांग्रेको ट्रायललाई भाडामा लिन उपुयक्त जग्गा र पूर्वाधार अभावमा १० वर्षदेखि परीक्षा सञ्चालन गर्न नसकिएको हो ।
धौलागिरि यातायात व्यवस्था कार्यालयले पूर्वाधार सहितको जग्गा भाडामा लिएर चारपांग्रे लाइसेन्सको परीक्षाको तयारी थालेको सूचना अधिकारी बद्रीनाथ गौतमले जानकारी दिए । दुईपांग्रे सवारीको ट्रायल परीक्षा सञ्चालन गर्न लिइएको बागलुङ नगरपालिका–१ रामरेखाको माझी बस्ती नजिकैको जग्गामा चारपांग्रे सवारीको परीक्षा सञ्चालनलाई जग्गा भाडामा ल्याउने तयारी भइरहेको छ ।
‘दुईपांग्रे सवारीसाधनको ट्रायललाई भाडामा लिइएको जग्गाको मिति सकिँदैछ, पुनः ठेक्कामा लैजाने भनेका छौं, त्योसँगै चारपांग्रेका लागि आवश्यक पूर्वाधार मापदण्ड सहितको फेला परेमा भाडामै लिएर भए पनि १ वर्षभित्रै चारपांग्रे सवारी चालक अनुमतिपत्रको परीक्षा लिने योजना छ,’ गौतमले भने, ‘कार्यालयलाई भाडामा जग्गा लगाएको धौलागिरि ड्राइभिङ इन्स्टिच्युटले दुईपांग्रे ट्रायल सेन्टर नजिकै चारपांग्रेका लागि ट्रायल दिन आवश्यक पूर्वाधार बनाइसकेको छ, पूर्वाधार मापदण्ड अनुसारको पाइएमा एकै स्थानमा दुईपांग्रे र चारपांग्रेको ट्रायल दिने व्यवस्था मिलाइनेछ ।’
अहिले निजीस्तरबाट सञ्चालनमा आएका ट्रायल सेन्टर सिक्न उपयुक्त भए पनि परीक्षालाई मापदण्ड अनुसारको नभएको सवारी चालक अनुमतिपत्र शाखा प्रमुख श्याम थापा बताउँछन् । ‘परीक्षालाई केही थप पूर्वाधार समेत चाहिन्छ, सीसीटीभी जडानसहित परीक्षाका दिने र लिनेलाई केही कोठा सहितको खुल्ला पूर्वाधार आवश्यक पर्दछ,’ थापाले भने, ‘ट्रायल निर्देशिकाको मापदण्डअनुसार निर्माण भएको जुनसुकै संरचना भए पनि भाडामा लिएर परीक्षा दिने व्यवस्थामा लाग्छौं ।’
जिल्लामा सवारीसाधनको चाप बढ्दै गएको र लाइसेन्स लिन पोखरा लगायतका ठूला सहरमा जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै १० वर्षपछि चारपांग्रे सवारीसाधनको परीक्षा लिने तयारी भएको हो ।
अहिले धौलागिरि यातायात व्यवस्था कार्यालयले दुईपांग्रे सवारीसाधनको ट्रायल तथा लिखित परीक्षाका लागि आइतवार, सोमवार, मंगलवार र बुधवार बायोमेट्रिक, बिहीवार रिट्रयालको राजस्व बुझाउने, मंगलवार रिट्रायल र बुधवार ट्रायल परीक्षा सञ्चालन गरिरहेको छ ।
प्रतिक्रिया