सगरमाथा क्षेत्रमा पाँच वर्षमा सवा २ लाख पर्यटक, राजस्व संकलन कति ?

शनिबार, २० फागुन २०७९, १८ : ३३

 काठमाडौँ - पछिल्लो पाँच वर्षको अवधिमा खुम्बु क्षेत्रमा मात्र दुई लाख २५ हजार २३५ जना पर्यटकले भ्रमण गरेका छन्। खुम्बु पासाङल्हामु गाउँपालिकाको तथ्यांक अनुसार आर्थिक वर्ष २०७४–०७५ देखि हालसम्म खुम्बु क्षेत्रमा पदयात्राका लागि आउने पर्यटकको संख्या दुई लाख २५ हजारभन्दा बढी भएको हो।

पर्यटक शुल्कबाट मात्र गाउँपालिकाले पाँच वर्षको अवधिमा ४५ करोड चार लाख ७० हजार रुपैयाँ राजस्व सङ्कलन गरेको गाउँपालिका अध्यक्ष मिङमा छिरी शेर्पाले जानकारी दिए।

नेपालकै मुख्य पर्यटकीय क्षेत्रको रूपमा चिनिने खुम्बु क्षेत्रको विकासका लागि गाउँपालिकाले काठमाडौंमा हालै आयोजना गरेको खुम्बु क्षेत्रको पर्यटन सम्बन्धी अन्तरसंवादमा गाउँपालिकाले तथ्यांक सार्वजनिक गरेको हो।

७५३ स्थानीय तहमध्ये पर्यटकीय गाउँपालिकाको रूपमा मानिने खुम्बुले सुरक्षित पर्यटकीय गन्तव्य, एकीकृत रूपमा पर्यटकको सुरक्षा नीति लगायतका व्यवस्थापकीय क्षेत्रमा समेत थप सुधार गर्दै आउने वर्षहरूमा पर्यटक आगमनको संख्या दोब्बरले वृद्धि गर्ने लक्ष्य राखेको अध्यक्ष शेर्पाले बताए।

प्राकृतिक स्रोतले भरिपूर्ण खुम्बुको सम्भावना अथाह रहेकाले यसबाट हुने आम्दानीले मात्र खुम्बुको समृद्धि हुने कार्यक्रममा सहभागी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य जुद्ध गुरुङले बताए।

हिमालै हिमालको देश भनेर चिनिने नेपाल त्यसमाथि पनि खुम्बु गाउँपालिकाभित्र मात्र अग्ला र होचा गरी पहिचान भएका ७८ वटा हिमाल रहेका छन्। पदयात्रा मात्र नभएर पर्वतीय पर्यटनलाई मुख्य जोड दिएर गाउँपालिकाले नीति अनुरूप सुधार गर्ने लक्ष्य राखेको अध्यक्ष शेर्पाले जनाए।

नीति मात्र नभएर पूर्वाधार समेत अभाव भएकाले सबै निकायसँग समन्वय गर्ने र सडक विस्तारलाई पहिलो प्राथमिकता राखेर काम अघि बढाएको गाउँपालिकाले जनाएको छ।

खुम्बु जोड्ने सडक अभाव हुँदा हालसम्म लुक्ला विमानस्थलबाट हवाई मार्गकै भर पर्नुपर्ने बाध्यता रहेको छ। सल्लेरीबाट थाम डाँडासम्म सडक पुगेकाले लुक्लासम्म सडक जोड्ने गरी काम अघि बढाएको गाउँपालिकाले जनाएको छ।

शनिबार, २० फागुन २०७९, १८ : ३३

प्रतिक्रिया