काठमाडौँ - युव उद्यमी सुदीप कोइरालाले १० लाख रुपैयाँ राशिको ‘गोपाल–कमला राजभण्डारी रोटरी अवार्ड फर भोकेसनल एक्सिलेन्स’ पुरस्कार प्राप्त गरेका छन्।
दिदी फाउन्डेसनका सञ्चालक कोइरालाले सामाजिक उद्यमशीलता तथा समाज परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरेवापत यो पुरस्कार प्राप्त गरेका हुन्। ३३ वर्षीय कोइरालले कम उमेरमै रोटरी क्षेत्रकै सबैभन्दा ठूलो पुरस्कार प्राप्त गर्न सफल भएका छन्।
रोटरियन गोपाल–कमला राजभण्डारीको नामबाट समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याउनेलाई यो पुरस्कार दिइँदै आइएको छ। यसअघि प्रत्येक दुई वर्षमा प्रदान गर्दै आइएको यो पुरस्कार यस वर्षदेखि वार्षिक रुपमा प्रदान गर्ने बताइएको छ।
रोटरी क्लब डिस्ट्रिक्ट ३२९२ को १५ औं राष्ट्रिय सम्मेलनका अवसरमा हालै गोपाल–कमलाका नाती आमोद राजभण्डारीले परिवारको अन्य सदस्यको उपस्थितिमा कोइरालालाई उक्त पुरस्कारबाट सम्मानित गरेका हुन्। यो पुरस्कार गोपाल–कमला राजभण्डारीको स्मृतिमा स्थापना गरिएको हो।
समाजसेवीका रुपमा परिचित गोपाल राजभण्डारी नेपालका रोटरी क्लब स्थापनाकालका संस्थापक सदस्य हुन्।
प्रतिक्रिया