सातौँ भक्तपुर औद्योगिक तथा पर्यटन मेला आयोजना हुँदै

आइतबार, १२ चैत्र २०७९, ०७ : ५२

काठमाडौँ - विभिन्न जिल्लामा औद्योगिक तथा व्यापार मेला गर्दै आएको औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर व्वाईज व्याण्डले नयाँ वर्षको अवसरमा सातौँ भक्तपुर औद्योगिक सांस्कृतिक पर्यटन तथा व्यापार मेला २०७९-०८० गर्न लागेको छ। जसमा भक्तपुर जिल्ला खेलकुद विकास समितिले सहयोग गर्ने भएको छ। 

नयाँ वर्ष नयाँ सोच युवाहरूको लागि छ प्रगतिको श्रोत भन्ने नाराका साथ चैत्र २३ गते बिहीबारदेखि वैशाख ४ गते सोमबार हुने गरी मेलाको आयोजना गर्न लागेको महोत्सवका संयोजक दीपक थापाले जानकारी दिनुभयो । 

मेलामा दर्शकको अवस्थालाई ध्यानमा राखी सामानहरूमा २० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको आयोजक संस्थाका अध्यक्ष सन्दीप महतले बताउनुभयो । 

ऐतिहासिक, सांस्कृतिक एवं पर्यटकीय स्थानले भरिभराऊ भक्तपुरको तीनकुने सल्लाघारीस्थित ९९ रोपनी क्षेत्रफलको जग्गामा विशाल मेला आयोजना हुन लागेको हो । उक्त मेलाको आवश्यक प्रक्रिया पुरा भइसकेको आयोजक संस्थाले पत्रकार सम्मेलन गरेर जनाएको छ । 

अहिले स्टल निर्माण कार्य भइरहेको र स्टल बुकिङ समेत खुलिसकेको जानकारी संस्थाका उपाध्यक्ष राजकुमार खड्काले गराउनुभयो । भक्तपुर आफैमा एक धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण स्थल रहेको छ, यसै अनुरूप यस मेलाले भक्तपुरको आन्तरिक तथा बाह्य पर्यटनमा वृद्धि गरी आर्थिक रूपले पनि मजबुत बनाउने र भक्तपुरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चिनाउन मद्दत पुग्ने मेलाका संयोजक थापाले जानकारी दिनुभयो । 

साथै विगतका वर्षमा भएका कमी कमजोरीलाई यो पटक सुधार गर्दै सातौँ भक्तपुर औद्योगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेलालाई ऐतिहासिक बनाउने जानकारी पनि उहाँले गराउनुभयो ।  

महोत्सवमा २०० भन्दा बढी स्टल राखिनेछ भने करिब ३ लाखभन्दा बढी दर्शकको आगमन हुनेछ। १२ करोड रुपैयाँको कारोबार कारोबार हुने अपेक्षा आयोजकले राखेको जनाएको छ ।

अन्तर्राष्ट्रिय स्टलसहित सम्पूर्ण दैनिक उपभोग्य खाद्यान्नका समानहरूदेखि लिएर लत्ताकपडा, जुत्ताहरू, कृषि तथा हस्तकलाका समानहरू, भाडाकुडाहरु एकै ठाउँमा सर्वसुलभ तरिकाले पाउने र त्यसैगरि अटो मोबाइल, विभिन्न ब्रान्डका मोबाइल अन्य इलेकट्रोनिक्स समानहरू पनि उपलब्ध हुने र नृत्य प्रतियोगिता, सांस्कृतिक प्रदर्शनी, चिडियाघर, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खाना महोत्सव, व्यापार तथा पर्यटकीय प्रदर्शनी र चर्चित गायक तथा गायिका द्वारा लोकदोहोरी गीत समेत प्रस्तुत हुनेछ। 

मेलामा बिक्री वितरण गर्न राखिएको समानहरूमा २५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था छ भने मेलामा प्रवेश शुल्क रु ५० र ७० मात्र रहेको जानकारी अध्यक्ष सन्दीप महतले गराउनुभयो । 

सातौँ औद्योगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७९र८० मा करिब ५ लाख उपभोक्ताले मेलाको अवलोकन गर्ने अनुमान गरिएको र उक्त मेलामा ४ दर्जनभन्दा बेसी राष्ट्रिय तथा स्थानीय कलाकारहरूले आफ्नो मनोरञ्जनात्मक कला, गायन कला, हास्य व्यङ्ग प्रदर्शन गर्ने र उपस्थित भिडलाई भरपुर मनोरञ्जन दिनेछन्। 

बालबालिकाहरूको लागि पनि छुट्टै बाल उद्यान, रोटे पिङ, मारुती सर्कस, कोलम्बस, जादु तथा अन्य खेल सामग्री समेत रहेको औद्योगिक शान्ति नेपाल संस्थाका महासचिव शङ्कर गुरुङले जानकारी दिनुभयो । 

साथै उक्त मेला अवलोकन गरी आन्तरिक तथा बाह्य व्यापार व्यवसाय र धार्मिक सांस्कृतिक पर्यटनलाई प्रवर्धन गर्न सम्पूर्ण नेपाली समुदायलाई उहाँले आव्हान गर्नुभएको छ । 

यो मेलाले भक्तपुरलाई मात्र नभएर अन्य बाह्य छिमेकी जिल्लाका बासिन्दाहरूले समेत लाभ लिन सक्ने कुराको जानकारी पनि उहाँले गराउनुभयो । 

मेलाको अन्तिम दिन अर्थात् वैशाख ४ गते विशेष कन्सर्ट कार्यक्रम रहनेछ जसमा युवा पीढीका चर्चित र्यापर जिबबको समेत प्रस्तुति रहनेछ भने उक्त दिनको प्रवेश शुल्क टिकेट मूल्य भने रु २०० रहने कोषाध्यक्ष प्रितम मल्लले जानकारी गराउनुभयो ।

आइतबार, १२ चैत्र २०७९, ०७ : ५२

प्रतिक्रिया