‘च्याटजीपीटी’ जस्ता ‘एआई’ले  श्रम बजारमा उथलपुथल ल्याउने अनुमान

१ बर्ष अगाडि

काठमाडौं : ‘च्याटजीपीटी’ जस्ता ‘जेनेरेटिभ एआई (आर्टिफिसियल इन्टेलिजेन्स)’ हरुले विश्व अर्थतन्त्रमा उल्लेख्य सुधार गरेपनि श्रम बजारमा भने उथलपुथल ल्याउने देखिएको छ । अमेरिकी बहुराष्ट्रिय इन्भेष्टमेन्ट बैंक ‘गोल्डम्यान साक्स’ को अध्ययन अनुसार जेनेरेटिभ एआईहरुले विश्वको कुल गार्हस्थ उत्पादन १० वर्षको अवधिमा ७% ले वृद्धि गर्ने देखिएको छ । यद्दपि, एआईका कारण विश्वका प्रमुख अर्थतन्त्रहरुमा ३० करोड जनाको पूर्णकालीन रोजगारी धरापमा पर्नसक्ने पनि गोल्डम्यान साक्सको अनुसन्धाले देखाएको छ ।
 
अमेरिका र युरोपमा दुई तिहाइ जागिरहरु प्रभावित हुन सक्ने रिपोर्टका लेखकहरु ‘जोसेफ ब्रिग्स’ र ‘देवेश कोडनानी’ ले गणना गरेका छन् । जसमध्ये वकिलहरु र प्रशासनिक कर्मचारीहरुको रोजगारी उच्च जोखिममा रहेको फाइनान्सियल टाइम्सले उल्लेख गरेको छ । एआईका कारण धेरैजसो कर्मचारीहरुको कामको भार आधाभन्दा कम हुने भएकाले बाँकी समयलाई अन्य अधिक उत्पादक कामहरुमा लगाउँदै रोजगारी पनि जारी राख्नसक्ने रिपोर्टमा बताइएको छ ।
 
च्याटजीपीटी जस्ता एआई प्रणालीहरुले मानिसले गरेका कामबाट छुट्याउनै नसकिने गरी लेखनसहित अन्य सिर्जना सामग्री गर्न तयार गर्नसक्ने भएकाले एक चौथाई कामहरु छिट्टै नै स्वचालित हुने देखिएको छ । यता, अमेरिकामा ८०% कर्मचारीहरुले आफ्नो १०% जिम्मेवारी प्रविधिमा हस्तान्तरण भएको देख्नसक्ने च्याटजीपीटीको निर्माता ‘ओपनएआई’ ले गरेको थप अनुसन्धानले देखाएको छ ।
 
ओपनएआईको अनुसन्धानका अनुसार जेनेरेटिभ एआईका कारण ५६%‘व्यक्तिगत वित्त सल्लाहकार र ब्रोकरहरु’ को रोजगारी जोखिममा पर्ने देखिएको छ । यस्तै, बिमाकर्ता, ‘डाटा प्रोसेसिङ’, अन्य समाचार तथा सूचना सेवाहरु र पत्रकारिता तथा प्रकाशन प्रत्येक क्षेत्रमा ५२% रोजगारी जोखिममा एक्सपोज भएको अनुसन्धानमा बताइएको छ । ‘क्रेडिट’ तथा धितो ब्रोकरहरु, पेटेन्ट तथा ट्रेडमार्कको इजाजतपत्रका साथै इन्भेष्टमेन्ट फन्डहरु पनि जोखिममा पर्ने देखिएको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया