मिटर ब्याजको कारोबारलाई गैरकानूनी घोषणा गर्न माग

१ बर्ष अगाडि

काठमाडौँ - अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र)ले तत्काल मिटर ब्याज पीडितको समस्या समाधान गर्न सरकारसँग माग गरेको छ । महासङ्घले आज प्रेस विज्ञप्ति जारी गर्दै मिटर ब्याजको कारोबारलाई गैरकानूनी घोषणा गर्न माग गरेको हो । 

    मिटर ब्याजको कारोबार गर्ने गरिब तथा किसानमारा सुद्खोरलाई कडाभन्दा कडा कारबाही गर्न समेत माग गरिएको छ । 

    महासङ्घका अध्यक्ष चित्रबहादुर श्रेष्ठले साँवा रकम बराबर ऋण भुक्तान गरेका सबै ऋणीको ऋण पूर्णरूपमा मिनाहा गर्न माग गर्नुभयो । उनीहरूको ऋणको लिखत कागजलाई अवैधानिक घोषणा गरी बदर गर्नसमेत महासङ्घले आग्रह गरेको छ । 
    
    ऋण उठाउने नाममा ऋणीलाई भौतिक यातना वा यातनाको धम्की दिने, परिवारका सदस्यलाई समेत असुरक्षित महसुस गराउने र मानसिक यातना दिने सबै मिटर ब्याजीलाई अविलम्ब गिरफ्तार गरी कडा कारबाही गर्न महासङ्घको माग छ । महाङ्घले मिटर ब्याज पीडितसँगको वार्ता र घटनाको छानबिनलाई तीव्रता दिन र पीडितलाई न्याय प्रदान गर्न माग गरेको छ । 

१ बर्ष अगाडि

प्रतिक्रिया