लगानी तथा व्यवसाय प्रवर्द्धन गर्न समझदारीपत्रमा हस्ताक्षर

१ बर्ष अगाडि

काठमाडौँ - नेपाल उद्योग परिसङ्घ र इन्डियन चेम्बर अफ कमर्सबीच लगानी, व्यवसाय प्रवर्द्धनलगायतमा सहकार्य गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

काठमाडौँमा  परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवाल र इन्डियन च्याम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष अमेय प्रभुले समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो । दुई संस्थाबीच लगानी तथा व्यवसाय प्रवर्द्धन, अध्ययन तथा अनुसन्धान, आपसी सहयोग, सूचना तथा जानकारीको आदानप्रदानलगायतमा सहकार्य हुने बताइएको छ । 

कार्यक्रममा अध्यक्ष अग्रवालले भारतको सबैभन्दा पुरानो संस्था इन्डियन चेम्बर अफ कमर्ससँगको सहकार्यले दुुई देशबीच व्यावसायिक सम्बन्ध थप बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले परिसङ्घले अगाडि बढाइरहेको मेक इन नेपाल स्वदेशी अभियान, स्टार्टअप एवं उद्यमशीलता प्रवर्द्धनलगायत दुई देशका उत्पादन तथा सेवाको प्रवर्द्धनमा दुई संस्थाबीच सहकार्य हुने बताउनुभयो ।

इन्डियन चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष प्रभुले यस किसिमको सहकार्यले नेपाल र भारतबीचमा उद्योग, व्यापार र लगानीका क्षेत्रमा नयाँ सम्भावना खोज्न महत्त्वपूर्ण हुने बताउनुभयो । परिसङ्घका उपाध्यक्ष निर्वाण चौधरीले परिसङ्घ र इन्डियन चेम्बर अफ कमर्सबीचको सहकार्यले उद्योगीका समस्या, चुनौतीको पहिचान एवं समाधानका लागि दुवै संस्थाले लविइङ गर्ने र दुई मुलुकबीचको आर्थिक हितमा काम गर्ने बताउनुभयो । 

१ बर्ष अगाडि

प्रतिक्रिया