मधेशमा उपनिर्वाचन : जसपा र जनमतको टक्कर

१ बर्ष अगाडि

काठमाडौँ — सत्ता गठबन्धनका तर्फबाट बारा–२ मा उपनिर्वाचन लड्ने तयारी गरिरहेका जसपा अध्यक्ष उपेन्द्र यादवलाई सहयात्री दलले मधेशको सत्ता राजनीति नमिलाए प्रतिकूल परिणाम आउन सक्ने चेतावनी दिएका छन् । विशेषगरी कांग्रेस र जनमत पार्टीले मधेश प्रदेशको मुख्यमन्त्री आफूलाई दिएर चुनावी माहोल अनुकूल बनाउनुपर्ने बताइरहेका छन् ।

मधेशमा अहिले जसपाका सरोजकुमार यादव मुख्यमन्त्री छन् । प्रदेशसभाको अघिल्लो पाँचवर्षे कार्यकालभर जसपाकै लालबाबु राउतले सरकारको नेतृत्व गरेका थिए । मधेश प्रदेशका साथै केन्द्रीय राजनीतिमा पनि जसपाले पर्याप्त अवसर पाएकाले मधेशको नेतृत्व फेरिनुपर्ने कांग्रेसका प्रदेश सभापतिसमेत रहेका संसदीय दल नेता कृष्ण यादव बताउँछन् ।

‘जसपाले पूरै ५ वर्ष मधेश सरकार चलायो, हालै उपराष्ट्रपति पनि पायो, त्यसमाथि उपेन्द्रजी सांसद जितेर केन्द्रीय सत्तामा पुग्ने योजनामा हुनुहुन्छ,’ उनले भने, ‘अब मधेशमा सरकारको नेतृत्व कांग्रेसले पाउनुपर्छ, गठबन्धनले कांग्रेसलाई मधेशका लागि नयाँ योजना ल्याउने अवसर दिनुपर्छ ।’

सत्ता गठबन्धनको सबैभन्दा ठूलो दलको हैसियतले मधेशमा कांग्रेसले सरकारको नेतृत्व दाबी गरेको यादवको भनाइ छ । १ सय ६ सदस्यीय मधेश प्रदेशसभामा एमालेका २३, कांग्रेसका २२, जसपाका १६, जनमत पार्टीका १३, लोसपाका ९, माओवादी केन्द्रका ८, एकीकृत समाजवादीका ७, स्वतन्त्रबाट ६ र राप्रपा, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका १–१ सांसद रहेका छन् ।

मधेशको सत्ता राजनीति मिलाउन नसके जसपा अध्यक्ष उपेन्द्रका लागि बारा–२ को उपनिर्वाचन अनुकूल हुन नसक्ने कांग्रेस प्रदेश सभापति यादव बताउँछन् । कांग्रेसले उपनिर्वाचनका लागि पूर्वकेन्द्रीय सदस्य राधेचन्द्र यादवलाई सिफारिस गरेको छ । उक्त क्षेत्रमा कांग्रेसको करिब २५ हजार मत रहेको प्रदेश सभापति यादवको दाबी छ । ‘कसलाई उम्मेदवार बनाउने र कोसँग गठबन्धन गर्ने भन्ने कुरा त केन्द्रबाट निर्देशन आउला तर अवसर जति आफैं लिन खोज्ने जसपाको नीतिले उपनिर्वाचनमा प्रतिकूलता निम्त्याउन सक्छ,’ उनले भने ।

बारा–२ मा जसपाका रामसहायप्रसाद यादवले २०७० र २०७४ को निर्वाचन जितेका थिए । यस पटक विजयी उनी उपराष्ट्रपतिमा निर्वाचित भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो । गत निर्वाचनमा एमालेसँगको तालमेलमा चुनाव लडेका रामसहाय कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका शिवचन्द्रप्रसाद कुशवाहसँग झिनो मतान्तरले विजयी भएका थिए । रामसहायले १३ हजार ८ सय २२ र कुशवाहले १३ हजार ४ सय ६८ मत ल्याएका थिए । जसपाबाटै बागी उठेका रामकिशोरप्रसाद यादवले ११ हजार ४३ मत पाएका थिए । बागी उठेपछि कारबाहीमा परेका रामकिशोरलाई उपेन्द्रले एक साताअघि पार्टीमा प्रवेश गराएका छन् । कुशवाह भने बुधबार माओवादी छाडेर जनमत पार्टीमा प्रवेश गरेका छन् । उपनिर्वाचनमा उम्मेदवार बन्ने गरी उनी जनमत पार्टीमा गएको बताइएको छ ।

जनमत पार्टीका महासचिव चन्दनकुमार सिंह जसपाले मधेशको सत्ताको साँचो सहयात्री दललाई दिनुपर्ने बताउँछन् । एमालेलगायतसँग गत पुस १० मा बनेको गठबन्धनमा जसपा र जनमतबीच मधेश सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको थियो । अहिले परिवेश बदलिएकाले जनमतले पहिले सरकारको नेतृत्व पाउनुपर्ने सिंहको भनाइ छ । ‘जसपाले उपराष्ट्रपति पाएको छ, उपेन्द्रजी गठबन्धनकै समर्थनमा उम्मेदवार बन्न खोज्दै हुनुहुन्छ,’ उनले भने, ‘मधेश सरकारको नेतृत्व पनि नछाड्ने हो भने त गठबन्धनमा सहकार्य कसरी हुन सक्छ रु’

पछिल्लो समय तराई–मधेशकेन्द्रित तीन दल जनमत, लोसपा र नागरिक उन्मुक्ति पार्टीबीच मोर्चाबन्दी भएको छ । सत्ता गठबन्धनले बाराको उपनिर्वाचनमा उपेन्द्रलाई उम्मेदवार बनाए पनि गठबन्धनमै रहेको तीनदलीय मोर्चाले छुट्टै उम्मेदवार उठाउने आकलन गरिएको छ । प्रदेशसभामा सचेतकसमेत रहेका जनमत महासचिव सिंह जसपाको व्यवहारमा आगामी सहकार्य निर्भर रहने बताउँछन् ।

जसपा प्रवक्ता मनीष सुमनले मधेश सरकारको नेतृत्वमा कांग्रेस र जनमतले इच्छा गरेको सुन्नमा आए पनि औपचारिक प्रस्तावका रूपमा गठबन्धनभित्र छलफल नभएको बताए । उनले सरकारको नेतृत्व आलोपालो गर्न जसपा तयार रहे पनि अहिलकै मुख्यमन्त्रीलाई तोकिएको कार्यकालसम्म काम गर्न दिनुपर्ने उनको भनाइ छ । ‘संघदेखि प्रदेशसम्म दीर्घकालीन सरकार चल्नुपर्छ, अस्थिरताको सन्देश जानु हुँदैन,’ उनले भने, ‘गठबन्धन लामै समय जाने भएकाले अहिल्यै पालो आएन भनेर आत्तिनुपर्ने अवस्था छैन ।’ उपनिर्वाचनलाई लिएर मधेश सरकारको नेतृत्व फेरबदल नहुने उनले बताए ।

बारामा पहिलो पटक निर्वाचन लड्ने तयारी गरिरहेका जसपा अध्यक्ष उपेन्द्रलाई गठबन्धनभित्रका दललाई मिलाउन नसकेमा जित निकाल्न कठिन हुने देखिन्छ । पछिल्लो समय मधेश उनीसँग असन्तुष्ट देखिन्छ । उनीमाथि सत्तामोहमा लिप्त भएको, मधेशका मुद्दालाई बेवास्ता गरेको, ५ वर्षसम्म उनी नेतृत्वको पार्टीले मधेश सरकार चलाउँदा आसेपासेलाई मात्र अवसर र योजना दिएको लगायत आरोप लाग्ने गरेका छन् । ‘उहाँमाथि टुरिस्ट उम्मेदवारको आक्षेप पनि लाग्ने गरेको छ, यो आक्षेपलाई मेटाउनुपर्ने चुनौती छ,’ बाराका कांग्रेस कार्यकर्ता राजनारायण यादवले भने ।

पहिलो पटक २०६४ मा मोरङ र सुनसरीबाट चुनाव लडेर जितेका जसपा अध्यक्ष यादवले २०७० मा भने सुनसरीमा मात्र विजयी भए, मोरङबाट हार बेहोरे । २०७४ को निर्वाचनमा उनी सप्तरी–२ बाट निर्वाचित भए । पछिल्लो समय विराटनगर स्थायी बसोबास भएका यादवको सप्तरी पुर्ख्यौली थलो हो । यस पटकको निर्वाचनमा उनी सप्तरी–२ मै जनमत पार्टीका अध्यक्ष सीके राउतसँग पराजित भए ।

जनमत पार्टीले मधेशको सत्ताको बहानामा आगामी उपनिर्वाचनमा उपेन्द्रसँग बलियो प्रतिस्पर्धा गर्ने वातावरण बनाउँदै गएको छ । ‘कांग्रेसले त केन्द्रको निर्देशन पाएपछि सहयोग गर्ला, जनमत पार्टीले उपेन्द्रलाई सघाउने देखिँदैन,’ नेता कुशवाहनिकट एक कार्यकर्ताले भने ।

१ बर्ष अगाडि

प्रतिक्रिया