एलपी ग्याँसको खपतमा गिरावट

१ बर्ष अगाडि

 काठमाडौँ - २०७८ को जनगणना अनुसार नेपालमा खाना पकाउन ४४.३ प्रतिशत घरपरिवारले एलपी ग्याँसको प्रयोग गर्छन् । नेपालमा रहेका कूल ६६ लाख ६० हजार ८४१ व्यक्तिगत परिवारमध्ये ४४.३ प्रतिशत परिवारले खाना पकाउन एलपी ग्याँसको प्रयोग गर्ने गरेका हुन् । यसको अर्थ नेपालका २९ लाख ५० हजार घरपरिवारले खाना पकाउन आयातित एलपी ग्याँसको प्रयोग गर्दै आएका छन् । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार पछिल्लो जनगणनाले एउटा परिवारमा औसतमा ४.३७ जना बसोबास गर्छन् ।

   यसअनुसार नेपालको कूल जनसङ्ख्या २ करोड ९१ लाख ६४ हजार ५७ जनामध्ये १ करोड २८ लाख ९१ हजार जनाको खान्की एलपी ग्याँसमार्फत पाक्छ । यसबाहेक, ५१ प्रतिशत (३३ लाख ९७ हजार) परिवारले दाउरा र काठको प्रयोग गरेर खाना पकाउँछन् भने बिजुलीको प्रयोग गरेर खाना पकाउनेको सङ्ख्या ०.५ प्रतिशत छ । अर्थात् नेपालका करिब ३३ हजार ३०४ घरपरिवारले खाना पकाउन विद्युतीय उपकरण प्रयोग गर्छन् । यस्तै, यसबाहेक ४.२ प्रतिशत घरपरिवारले खाना पकाउन बायोग्याँस, मट्टितेल र अन्य इन्धनको प्रयोग गर्छन् ।

 अघिल्लो जनगणना २०६८ सालमा नेपालका ६४.८ प्रतिशतभन्दा धेरै घरपरिवारले खाना पकाउन दाउरा र काठको प्रयोग गर्थे । हाल यो सङ्ख्या ह्वात्तै घटेर एलपी ग्याँसको प्रयोग बढेको पाइएको छ । पछिल्लो १० वर्षको तथ्याङ्क केलाउँदा एलपी ग्याँसको खपत ह्वात्तै बढेको छ । तर, चालू आर्थिक वर्षको ८ महिनाको तथ्यांकअनुसार भने एलपी ग्याँसको खपत नै घट्न थालिसकेको छ । चालू आर्थिक वर्षको यस अवधिमा ५ प्रतिशत एलपी ग्याँसको आयात र खपत घटेको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया