ओपेक प्लस राष्ट्रहरुद्वारा तेल उत्पादन कटौती गर्ने

१ बर्ष अगाडि

काठमाडौं-  ओपेक प्लस राष्ट्रहरुले तेल उत्पादन कटौती गर्ने निर्णय गरेका छन्। 

साउदी अरेबियालगायत प्रमुख तेल उत्पादक देशहरुको समूह ओपेक प्लसले प्रतिदिन १० लाख ब्यारेलभन्दा बढीको उत्पादन कटौती गर्ने निर्णय गरेको हो। जसका कारण सोमबारको प्रारम्भिक कारोबारमा कच्चा तेलको मूल्य एकै झटकामा ६ प्रतिशतले उकालो लागेको थियो।

वेस्ट टेक्सास इन्टरमिडिएट कन्ट्रयाक्ट (डब्ल्यूटीआई) ५.७४ प्रतिशतले बढेर ८०.०१ प्रतिब्यारेल पुगेको छ र जबकि ब्रेन्ट ५.६७ प्रतिशतले बढेर ८४.४२ प्रतिब्यारेल पुगेको छ। 

कच्चा तेल उत्पादन घटाउने देशहरुमा साउदी अरेबिया, इराक, युएई, कुवेत, अल्जेरिया र ओमान पर्छन्। यो कटौती अर्को महिनादेखि सुरु भएर यो वर्षको अन्त्यसम्म जारी रहनेछ। 

यो गत अक्टोबरयता तेल उत्पादनमा भएको सबैभन्दा ठूलो कटौती हो। त्यसपछि ओपेक प्लस देशहरुले दैनिक २० लाख ब्यारेल कटौती गर्ने घोषणा गरेका थिए। रुसले पनि प्रतिदिन ५ लाख ब्यारेल उत्पादन कटौती गर्ने घोषणा गरेको छ।

अमेरिकाले यी देशहरुलाई उत्पादन बढाउन आग्रह गरेको थियो। तर, नतिजा उल्टो आएको छ। कच्चा तेल उत्पादनमा कटौतीले महँगी बढ्न सक्ने विज्ञहरु बताउँछन्। यसले केन्द्रीय बैंकहरुलाई ब्याज बढाउन दबाब पनि बढाउन सक्ने उनीहरुको भनाइ छ। 

गत वर्ष रुसले युक्रेनमा आक्रमण गरेपछि कच्चा तेलको मूल्य प्रतिब्यारेल १३९ डलरसम्म पुगेको थियो। जुन २००८ यताकै उच्च स्तर हो। –एजेन्सी





१ बर्ष अगाडि

प्रतिक्रिया