स्टार्टअप नीति पारित गर्न महासङ्घको आग्रह

१ बर्ष अगाडि

काठमाडौँ - नेपाल उद्योग वाणिज्य महासङ्घ प्रतिनिधिमण्डलले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई भेटेर नवप्रवर्तन व्यवसाय (स्टार्टअप) नीति पारितसँग आग्रह गरेको छ । महासङ्घ अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा उद्योगमन्त्री रिजाललाई भेट्न गएको प्रतिनिधिमण्डलले अर्थतन्त्रमा अहिलेको सङ्कट समाधानका लागि उद्योग मन्त्रालयले ठोस पहल गर्न पनि आग्रह गरेको हो ।
    
     “बहुप्रतिक्षित स्टार्टअप नीति तत्काल पारित गर्न मन्त्री रिजाल समक्ष आग्रह गरिएको छ । महासङ्घको पहलमा निर्माण भएको यो नीति सबै निकायबाट सुझाव समेटेर तयारी अवस्थामा छ । अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि उद्योग मन्त्रालयको भूमिका बढाउनेबारे पनि आग्रह गरिएको छ ।”, मन्त्री रिजालसँगको भेटबारे महासङ्घले प्रेस विज्ञप्तिमा भनेको छ ।
 
     बजारमा तरलता अभावको समस्याका कारण माग खुम्चिँदा उद्योग व्यवसायहरु आधा भन्दा कम क्षमतामा चलिरहेकोलेबारे मन्त्री रिजाललाई जानकारी गराएको महासङ्घले जनाएको छ । त्यस्तै, अहिले आर्थिक अवस्था सहज बनाउन सरकारले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने र वितरणमुखी कार्यक्रममा कटौती गर्नुपर्ने सुझाव पनि महासङ्घले दिएको जनाएको छ ।
 
     मन्त्री रिजालसँगको भेटमा लगानी बढाउनुपर्ने, निजी क्षेत्रमा विश्वासको वातावरण बनाउने, बाह्य लगानी भित्र्याउन पहल गर्नुपर्ने, उधारो उठाउने सम्बन्धि कानून ल्याउनुपर्नेलगायतका सरकारले तत्काल गर्नुपर्ने कामबारे सुझाव दिइएको महासङ्घले जनाएको छ । त्यस्तै, महासङ्घको भिजन पेपर ‘राष्ट्रिय आर्थिक रुपान्तरण नेट–२०३०’ कार्यान्वयनबारे मन्त्रालयसँग भएको समझदारीलाई अगाडि लैजाने विषयमा छलफल भएको पनि महासङ्घले जनाएको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया