पर्यटकीय गाउँ घलेलमा चलचित्र पत्रकारिता कार्यशाला

१ बर्ष अगाडि

गण्डकी - चलचित्र पत्रकार सङ्घ नेपाल कास्कीको आयोजनामा माछापुच्छ्रे गाउँपालिका–८ स्थित पर्यटकीय गाउँ घलेलमा चलचित्र पत्रकारिता कार्यशाला सम्पन्न भएको छ ।

    चलचित्रका क्षेत्रमा कलम चलाउने पत्रकारको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ दुई दिने कार्यशाला आयोजना गरिएको चलचित्र पत्रकार सङ्घ कास्कीका अध्यक्ष प्रभु अधिकारीले जानकारी दिनुभयो ।

करिब ५० जना पत्रकार सहभागी कार्याशालामा सुरेश रानाभाट, केशवशरण लामिछाने र नारायण अमृतले प्रशिक्षण दिनुभएको थियो । कार्याशालाको उद्घाटन गर्दै माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले घलेल धेरै पर्यटकीय सम्भावना बोकेको स्थान रहेर पनि ओझेलमा परेको बताउनुभयो ।
    
मर्दी हिमाल, खुमैलगायतका स्थानमा जाने प्रमुख गन्तव्य घलेल भए पनि यसको पर्यटकीयरूपमा विकास हुन नसकेको उहाँले बताउनुभयो । प्राचीन मौलिक बस्तीसँगै नजिकबाट हिमाल नियाल्नका लागि पनि घलेल उपयुक्त गन्तव्य रहेको भन्दै उहाँले गाउँमाथि रहेका तारे बराह, महागुरु गुम्बा आदि धार्मिकरूपमा विशिष्टस्थल भएको बताउनुभयो ।
    
माछापुच्छ्रे–८ का वडाध्यक्ष राम गुरुङले पछिल्लो समयमा बसाइँसराइको बढ्दो क्रम घलेलका लागि चुनौती बनेको बताउनुभयो । चलचित्र छायाङ्कनका लागि घलेल उपयुक्तस्थल भएको बताउँदै उहाँले यसको प्रवर्द्धनको खाँचो औँल्याउनुभयो ।
    
चलचित्र पत्रकार सङ्घका केन्द्रीय अध्यक्ष समिर बलामीले कृष्णचन्द्रसिंह प्रधानदेखिको चलचित्र पत्रकारिताको इतिहास रहेको उल्लेख गर्दै यस्ता तालिम तथा कार्यशालाले यस क्षेत्रमा कलम चलाउनेलाई थप परिष्कृत बनाउने बताउनुभयो ।
    
कार्यक्रममा चलचित्र पत्रकार सङ्घ कास्कीका संस्थापक अध्यक्ष श्रीराम सिग्देल, कार्यक्रम संयोजक सुरेश सुनार, घलेल सामुदायिक होमस्टेका सचिव सुनकुमारी गुरुङ, नेपाल पत्रकार महसङ्घ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमल्सिना, सङ्घका सचिव सन्तोष बस्याललगायतले बोल्नुभएको थियो । 

१ बर्ष अगाडि

प्रतिक्रिया