काठमाडौं - खप्तड र धौलागिरी लघुवित्तले एकै दिन वैशाख १६ गते साधारण सभा बोलाएका छन् ।
खप्तड र धौलागिरी एक आपसमा मर्ज हुँदैछन् । दुवै कम्पनीले मुख्यरुपमा सोही प्रस्ताव राखेर सभा बोलाएका हुन् । जसमा खप्तडको सभा होटल नमस्ते, अत्तरीयामा दिउँसो १ बजे सुरु हुनेछ । यस्तै, धौलागिरीको साधारण सभा, धौलागिरी सामुदायिक श्रोत विकास केन्द्र, सभाहल उपल्लाचौर, बाग्लुङमा बिहान १० बजे सुरु हुनेछ ।
दुवै लघुवित्तको सभाले एकआपसमा मर्जर गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने एजेन्डा पेश गर्नेछन् । मर्जर पश्चात् धौलागिरी लघुवित्तको नामबाट एकीकृत कारोबार गर्ने एजेन्डा पनि छ । मर्जपछि जारी पुँजी, चुक्ता पुँजी र सोही अनुसार सेयर संरचना परिवर्तन हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश हुनेछ ।
सभा प्रयोजनका लागि दुवै कम्पनीले वैशाख २ गते बुक क्लोज गरेका छन् । यसर्थ, दुवै कम्पनीमा वैशाख १ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् । हाल खप्तड लघुवित्तको केन्द्रीय कार्यालय कैलालीको गोदावरीमा रहेको छ भने धौलागिरी लघुवित्तको बागलुङ नगरपालिकामा छ । यसअघि धौलागिरी र खप्तड लघुवित्तबीच गत मंसिर १८ गते मर्जमा जाने सम्झौता भएको थियो ।
प्रतिक्रिया