काठमाडौँ - भारतले सन् २०२२ मे महिनामा कच्चा खानेतेलको भन्सार महसुल शून्य बनाएपछि नेपालतर्फको निर्यात प्रभावित बनेको छ ।
रुस–युक्रेन युद्धलाई कारण देखाउँदै उद्योगीले खानेतेलको मूल्यमा अचाक्ली वृद्धि गरेका थिए । तोरीको तेलको मूल्य बढेर प्रतिकार्टुन ३२ सय रुपैयाँसम्म पुगेको थियो । यस्तै, सूर्यमुखी र भटमास तेलको मूल्य प्रतिकार्टुन २५ सयदेखि २७ सय रुपैयाँसम्म पुगेको थियो । जुन, यति बेला निरन्तर घटेर डेढ वर्षअघिकै मूल्यमा बिक्री हुन थालेको हो ।नेपाल चामल, तेल, दाल उत्पादक संघका उपाध्यक्ष नरेश राठीले बजारमा धमाधम खानेतेलको मूल्य घट्न थालेको बताए ।
उनले यति बेला तोरीको तेलको मूल्य प्रतिकार्टुन २५ सय रुपैयाँसम्म आइपुगेको बताए । जुन, ७०० रुपैयाँ प्रति कार्टुनसम्मको गिरावट हो । यस्तै, बजारमा भटमास र सूर्यमुखी तेलको मूल्य घटेर प्रतिकार्टुन २ हजार रुपैयाँभन्दा तल आइपुगेको छ । ‘अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्नुका साथै भारतबाट समेत चोरी पैठारी हुन थालेको छ भने स्वदेशी उत्पादन समेत बजारमा आउँदा मूल्य प्रभावित बनेको छ,’ राठीले भने ।
विदेशी बजारमा भटमास र सूर्यमुखीको मूल्य प्रतिटन १८ सय डलरसम्म पुगेको थियो । जुन, यति बेला घटेर १ हजार डलरसम्म आइपुगेको छ । यस्तै, विदेशी बजारमा यसअघि, प्रतिटन ८०० डलरसम्म पुगेको कच्चा तेलको मूल्य अहिले ६६० डलरमा आइपुगेको छ । यसबीचमा प्रतिटन १४० डलरसम्म घटेको उद्योगी बताउँछन् । यसैगरी, गेडा तोरीको मूल्य १४० रुपैयाँ प्रतिकिलोसम्म पुगेकोमा हाल घटेर १०० रुपैयाँसम्म आइपुगेको छ । खासगरी, स्वदेशी उत्पादन भित्रिएसँगै आन्तरिक बजारमा तोरीको मूल्य घटेको र अन्तर्राष्ट्रिय बजारमा समेत घट्दा स्वदेशी बजार प्रभावित बनेको हो ।
यससँगै, यसअघि थोक बजारमा ३५० रुपैयाँसम्म पुगेको तोरीको तेलको मूल्य यति बेला प्रतिलिटर २५० रुपैयाँसम्म आइपुगेको छ । यस्तै, यसअघि थोक बजारमा २१० रुपैयाँदेखि २३० रुपैयाँसम्म पुगेको भटमास र सूर्यमुखी तेलको मूल्य प्रतिलिटर १९० देखि १९५ रुपैयाँ प्रतिलिटरसम्म आइपुगेको छ । यससँगै, तोरीको तेलको खुद्रा मूल्य प्रतिलिटर ३०० र भुटेको तोरीको तेलको मूल्य प्रतिलिटर ३५० रुपैयाँमै पाइन थालेको छ । यस्तै, भटमास तेलको मूल्य प्रतिलिटर २२० र सूर्यमुखी तेलको मूल्य २४० रुपैयाँ प्रतिलिटरसम्म झरेको नेपाल खुद्रा व्यापार संघले जनाएको छ ।
‘अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि नेपाली बजारमा पनि घटेको छ,’ संघका महासचिव अमूलकाजी तुलाधारले भने, ‘यसबाहेक, उद्योगीले पठाएको मूल्यमै आफूहरूले तेल बेच्ने गरेको र यति बेला घटाएर पठाएका छन् ।’ तर, उद्योगीहरूले अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा स्वदेशी मूल्य प्रभावित बनेको बताए पनि निर्यात प्रभावित बन्दा मूल्य घटेको हो ।
प्रतिक्रिया