काठमाडौँ - २०७२ सालको विनाशकारी भूकम्पदेखि पूर्णरुपमा बन्द भएको तातोपानी नाकाबाट चीनतर्फ निर्यात सुरु भएको छ । भूकम्पले पुर्याएको क्षतिका कारण बन्द भएको ८ वर्षपछि आज मे १ देखि चीनतर्फ निर्यात सुरु भएको हो । २०७२ सालको भूकम्पबाट तातोपानी नाकातर्फको सडकमा पूर्ण क्षति पुगेको थियो । जसकारण, चीनतर्फको निर्यात बन्द भएको थियो । यद्यपि, यसबीचमा नेपालतर्फको आयात भने निरन्तर भइरहेको थियो । भूकम्पले क्षति पुर्याएको ४ वर्षपछि चीनले तातोपानी तर्फको सडक, मितेरी पुल र सुख्खा बन्दरगाह समेत बनाइदिएको थियो ।
तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीकाअनुसार आज ३ वटा कन्टेनरमा २९ लाख २९ हजार ८११ रुपैयाँ बराबरको सामान चीन निर्यात भएको बताए । उनले ३ वटा कन्टेनरमा मेट्रिक्स, मुडा र लुगा चीनतर्फ निर्यात भएको रातोपाटीलाई जानकारी दिए । १५ चैतमा वाणिज्य सचिव र तत्कालीन भन्सार विभागका महानिर्देशकको चीन भ्रमणका क्रममा ल्हासामा भएको बैठकअनुसार आजदेखि नाका सञ्चालनमा ल्याउने सहमति भएको थियो ।
‘वाणिज्य सचिव र भन्सार विभागका महानिर्देशकले ल्हासामा पुगेर मे १ देखि नाकाबाट निर्यात सुरु गर्ने सम्झौता गर्नुभएको थियो,’ भन्सार प्रमुख केसीले भने, ‘सोही सम्झौता बमोजिम आजदेखि निर्यात सुरु भएको हो ।’
प्रतिक्रिया