काठमाडौँ- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई नेपाल प्रहरीले एमाले सांसद लक्ष्मी महतो कोइरी फरार अवस्थामा रहेको जानकारी गराउँदै दोस्रो पत्र पठाएको छ ।
हत्या अभियोग लागेका सांसद कोइरी हाल फरार रहेको र निजको खोजी भइरहेकोबारे सभामुखलाई आइतबार दोस्रो पत्र पठाइएको प्रहरी प्रवक्ता डीआइजी कुवेर कडायतले रातोपाटीलाई जानकारी दिए । यसअघि पनि उनी फरार रहेकोबारे सभामुखलाई जानकारी गराइएको कडायतले बताए । उनले भने– ‘सांसद कोइरीमाथि हत्या अभियोग लागेको, उनी हाल फरार रहेको र प्रहरीले खोजिरहेको बारे सभामुखलाई दोस्रोपटक जानकारी गराउँदै पत्र पठाएका छौँ ।’
यता सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले पनि संसद् सचिवालयमा प्रहरी प्रधान कार्यालयबाट सांसद लक्ष्मी महतो कोइरीको बारेमा जानकारी पत्र आएको बताए । यसअघि प्रहरीले गत पुस ७ गते लक्ष्मी महतो कोइरीमाथिको अभियोग र प्रहरीले खोजी गरिरहेको विषयमा सभामुखलाई जानकारी पत्र गराएको थियो । प्रहरीले सो पत्र पठाएकै दिन संसद् भवन छिरेर सांसद महतोले शपथ लिएका थिए भने पुस २६ गते प्रधानमन्त्रीले विश्वासको मत लिएको दिन पनि संसद् भवन पुगेका थिए ।
प्रहरीले यसअघि नै पत्र पठाए पनि सभामुखले उनलाई निलम्बन गरेका थिएनन् । गत वैशाख १५ गते हिउँदे अधिवेशनको अन्तिम दिन फरार भएको अभियुक्तलाई बिरामी बिदाको लागि सभामुखले प्रस्ताव पेस गरेको भन्दै सांसदहरुले संसद्मा बबन्डर गरेका थिए । सांसदहरूको विरोधका कारण झन्डै ५ घण्टा प्रतिनिधि सभाको बैठक अवरुद्ध भएको थियो । त्यसपछि भएको बैठकमा सभामुखले सांसद कोइरीबारे अर्को बैठकमा निर्णय लिने बताएका थिए ।
प्रतिक्रिया