चन्द्रागिरी हिल्सको सूचकहरुमा सुधार

११ महिना अगाडि

काठमाडौँ- गत आर्थिक वर्षको तेश्रो त्रैमाससम्म घाटामा गएको चन्द्रागिरी हिल्स लिमीटेडले प्रमुख वित्तीय सूचकहरुमा सुधार गर्न थालेको छ । 

यो कम्पनीले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा ७ करोड ७७ लाख रुपैयाँ खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनी १ करोड ५८ लाख रुपैयाँले खूद घाटामा थियो । 


कम्पनीको सञ्चालन आम्दानी तथा अन्य आयमा समेत सुधार हुँदा यसको प्रभाव खूद नाफामा देखिएको हो । 

समीक्षा अवधिमा कम्पनीले ६२ करोड ९० लाख सञ्चालन आम्दानी गरेको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो आम्दानी ४४ करोड ४० लाख रुपैयाँमा सीमित थियो । 

कम्पनीका कर्मचारीहरुको सुविधाखर्च तथा प्रशासनिक र अन्य खर्च बढ्दा समेत चन्द्रागिरीले खूद नाफाले बढाउने सफलता पाएको हो । 

कुल १ अर्ब ५३ करोड ४० लाख रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको रिजर्भ भने  ३० करोडले ऋणात्मक छ । अघिल्लो वर्षको यही अवधिसम्म ४३ करोडले ऋणात्मक थियो।

नाफा बढ्दा यसको सकारात्मक प्रभाव वार्षिकीकृत प्रतिसेयर आम्दानी (इपीएस)मा पनि देखिएको छ । फलस्वरुप अघिल्लो वर्षको यही अवधिमा १.०३ रुपैयाँले नेगेटिभ रहेको इपीएस अहिले भने ५ रुपैयाँ ७ पैसा पुगेको छ । 

सेयरधनीको सेयर पूँजीकोषको प्रतिफल ०.०६ प्रतिशत, ऋण पूँजीको अनुपात १.८४ प्रतिशत, प्रतिसेयर नेटवर्थ ७९.९३ रुपैयाँ, पीई रेसियो २२७.१७ गुणा कायम भएको छ । 

कम्पनीको दोश्रो बजारको अन्तिम कारोबार मूल्य १००८ रुपैयाँ प्रतिकित्ता रहेको छ । नेटवर्थ ७९.९३ रुपैयाँ मात्र भएको कम्पनीको दोश्रो बजार मूल्य भने १ हजार माथि हुनु चाखलाग्दो विषय हो । कमजोर वित्तीय अवस्थाका कम्पनीहरुको सेयरमूल्य समेत मिलेमतोमा कसरी बढाइन्छ भन्ने एउटा उदाहरण समेत बन्नसक्छ चन्द्रागिरी हिल्स । 

११ महिना अगाडि

प्रतिक्रिया