चल्न थाले लामो रुटमा साझाका बिजुली बस

सोमबार, ०१ जेठ २०८०, १६ : ५८

 काठमाडौँ - साझा यातायातले पाटनढोकाबाट रत्नपार्क हुँदै ज्ञानेश्रर-जोरपाटी (दक्षिणढोका)सम्मको बिजुली बस सेवा आरम्भ गरेको छ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले साझा यातायातको बिजुली बस सेवा सुरुवात गरेका छन् ।

फर्किंदा दक्षिणढोका–जोरपाटी–चाबहिल–गौशाला–रातोपुल–घण्टाघर–जमल–माइतीघर–पाटनढोका रुटबाट चल्ने ३ वटा बसहरुको सेवा उद्घाटन भएको हो । यो रुटमा १५ वटासम्म बिजुली बस चलाउने साझाको योजाना छ ।

यसअघि परीक्षणका रुपमा साझाले गत असारदेखि ३ वटा बिजुली बसमार्फत सेवा दिंदै आएको छ । चीनको सीएचटीसी कम्पनीले बनाएको ब्याट्रीबाट चल्ने ४० बस साझाले ६१ हरोड ८३ लाख ४५हजार ७३२ रुपैयाँको लागतमा किनेको थियो ।

३० असार २०७६ मा तत्कालीन केपी ओली नेतृत्व सरकारले बिजुलीबाट चल्ने सार्वजनिक यातायातको प्रोत्साहन गर्न साझ यातायात सहकारी संस्थालाई ३ अर्ब रुपैयाँ दिने निर्णय गरेको थियो ।

साझा यातायातको संचालक समितिले नयाँ प्रविधि बिजुलीमा चल्ने बस भएकोले तीन पटक गरी बस खरीद गर्ने निर्णय गरेको थियो ।

साझाका अनुसार पहिलो ‘लट’ मा ४० वटा बस आएका हुन् । साझा यातायातले बस खरीदको लागि अनुसन्धान सुरु गरेको एक महीना नपुग्दै ‘सरकारबाट प्रक्रिया अगाडि नबढाउने’ भनेपछि प्रक्रिया रोकिएको थियो भने एक वर्ष पछि फेरि ‘काम अगाडि बढाउनू’ भनी पत्र प्राप्त भएको थियो । यसरी बस खरीदमा डेढ वर्ष ढिलाइ भएको थियो ।

साझा यातायातलाई बिजुली बस भित्र्याउन पुनः अनुमति दिएपछि यस्ता बसहरूलाई आउका हुन् । ‘रातभरि चार्ज गर्न चाहिने डिपो पनि सरकारद्वारा उपलब्ध हुनुपर्नेमा आजसम्म यसो हुनसकेको छैन,’ साझाले विज्ञप्तिमा भनेको छ,‘साझा यातायातको आफ्नै प्राङ्गणमा भने साविक डिजल बसले नै ठाउँ लिएका छन् ।’

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको ‘चार्जिङ डिपो दिलाउनू’ भन्ने निर्देशनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गरेको पहलमा केही सम्भाव्य स्थानको सूची तयार भएको थियो ।

सल्लाघारी, खुमलटार, गुर्जुधारा, ट्रलीबस डिपो, पुल्चोकको सहकारी विकास बोर्डको प्रांङ्गण लगायतका ठाउँ विकल्पमा रुपमा हेरिएको थियो । यी ठाउँ इंगित भए पनि साझा यातायात प्रयोगको लागि दिलाउने पहल नभएको साझाको गुनासो छ ।

३७ वटा बस पहिला नै ल्याएका तीन बसकै मोडल भएपनि फेरि चेक जाँच गर्न सरकारले सुझाव दिएअनुसार त्रिभुवन विश्वविद्यालय तथा काठमाडौं विश्वविद्यालयका विशेषज्ञ प्राध्यापकको टोलीले चेकजाँचपछि उपयुक्त रहेको ठहर  गरेको थियो ।

साझाले पाटनढोका–जोरपाटी नयाँ रुटसहित उपत्यकाका अन्य नगरपालिकासँग सहकार्य गर्दै बिजुली परिवहनको प्रवर्द्धन गर्दैै जाने निधो गरेको अध्यक्ष कनमणि दीक्षितले बताए ।

नगरपालिकाहरूले आ–आफ्नो क्षेत्रमा चार्जिङ डिपो खडा गर्न सहयोग गर्नुहुनेछ भन्ने साझा यातायातको अपेक्षा गरिएको साझाले बताएको छ । साझाका अनुसार साझा यातायातलाई चाहिने बिजुलीलाई जडान तथा ट्रान्सफर्मर उपलब्ध गराउन नेपाल विद्युत् प्राधिकरण तत्पर रहँदै आएको छ ।

‘जनस्वास्थ्य, स्वदेशी इन्धन प्रयोग तथा सार्वजनिक यातायातलाई सुलभ र मर्यादित बनाउन बिजुली परिवहन अपरिहार्य भएको छ । साझा यातायातलाई विश्वास गरेर ब्याट्रीमा चल्ने बस खरिद गर्न रकम उपलब्ध गराएकोमा हामी सरकारप्रति आभारी छौं,’ साझा यातायातका अध्यक्ष  दीक्षित भन्छन्,‘सरकारको मातहतका विभिन्न स्थानमा उपयुक्त जग्गा हुँदाहुँदै साझा यातायातलाई उपलब्ध हुन नसकेकोमा दुःखी पनि छौं ।’

अर्को ६०–८० बस अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा खरिद गर्न अध्ययन टोली गठन गरिसकेको साझा यातायात फेरि पनि संघीय सरकारसँग चार्जिङको लागि डिपो उपलब्ध गराइदिने आशामा छ । ‘राजधानी उपत्यका लगायत मुलुकका अन्य शहरी क्षेत्रमा बिजुलीमा चल्ने सार्वजनिक यातायात आज र भोलिको माग हो,’ साझा यातायातले विज्ञप्तिमा भनेको छ,‘देशको सार्वजनिक यातायातका अधिकांश भाग निजी बस व्यवसायीद्वारा सञ्चालित हुने हुँदा निजी क्षेत्रलाई बिजुली परिवहनमा अग्रसर हुन सहुलियत ऋण तथा अन्य सुविधा चाहिने अवस्था छ ।’ बिजुली बसको शुरुआती लगानी डिजल बसभन्दा तीन गुणा बढी हुने हुनाले यस्तो सहुलियतको खाँचो पर्ने साझाको भनाइ छ ।

सोमबार, ०१ जेठ २०८०, १६ : ५८

प्रतिक्रिया