काठमाडौँ - अर्थमन्त्री डा प्रकाशशरण महतले बीमा व्यवसाय क्षेत्रको प्रभावकारी नियमन आवश्यक रहेको बताउनुभएको छ ।
नेपाल बीमा प्राधिकरणको ५५ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अर्थमन्त्री डा महतले बीमा क्षेत्रको नियामकका रुपमा रहेको प्राधिकरणले आफ्नो व्यावसायिकता पूरा गरे–नगरेको बारे समीक्षा गर्नुपर्ने बताउनुभयो ।
“पुरातन शैलीले नभई अब नवीनतम प्रविधिको प्रयोगमार्फत स्वस्थ, प्रतिस्पर्धी र ग्राहकको सुरक्षालाई ध्यानमा राखी बीमा व्यवसाय चलाउन नियामकको भूमिका बलियो बनाउन आवश्यक छ”, उहाँले भन्नुभयो ।
बीमा व्यवसाय विस्तार गरेर लागत कम गर्नुपर्ने उहाँको भनाइ छ । बीमा कम्पनीको सङ्ख्या धेरै भएकाले यो व्यवसायलाई थप मजबुद र प्रतिस्पर्धी बनाउन मर्जरको नीति लिइनुपर्ने पनि मन्त्री महतले बताउनुभयो ।
सार्वजनिक संस्थानमा चरम राजनीतिक हस्तक्षेप हुँदा व्यावसायिकता खुम्चिँदै गएको अर्थमन्त्री डा महतको भनाइ छ । त्यस्तै, स्वास्थ्य बिमालगायत सामाजिक सुरक्षाको दायित्व बढेको उहाँले बताउनुभयो ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बीमा र वित्तीय क्षेत्रको नियमनका लागि वित्तीय क्षेत्र विकास रणनीतिको प्रभावकारी कार्यान्वयनको आवश्यकता औँल्याउनुभयो । प्राधिकरणले नियामकका रुपमा स्वतन्त्र ढङ्गले आफ्नो काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले पछिल्लो समय बीमा व्यवसायबारे नागरिक स्तरमा बुझाइ बढ्दै गएको बताउनुभयो । यद्यपि तल्लो तहसम्म र सीमान्तकृत नागरिकलाई समेत समेट्ने गरी बीमा सेवा विस्तार हुन नसकेको उहाँले बताउनुभयो । सरकारले बीमासम्बन्धी नीति परिवर्तन गर्नुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो ।
प्रतिक्रिया