सञ्चालनमा आउँदै लुम्बिनी केबलकार

१० महिना अगाडि

काठमाडौँ - बुटवलको लुम्बिनी केबलकारको यहीँ जेठ १५ गतेदेखि सञ्चालनमा आउने भएको छ । आईएमई समूहको लगानीमा बनेको लुम्बिनी केबलकार व्यावसायिक रुपमा सञ्चालन हुनु पूर्व मन्दिरमा कामाख्या देवीको मूर्ति प्राणप्रतिष्ठा गरी पुजा आराधना सुरु गरिएको छ ।

 भारतको गुहावटीमा रहेको मन्दिरकै शैली र कलामा वसन्तपुरमा कामाख्या मन्दिर बनेको छ । कामाख्या मन्दिरको दर्शनले मनोकामना पूरा हुने र सांसारिक बन्धनबाट मुक्ति पाइने धार्मिक विश्वास रहेको धर्मगुरु किशोर गौतमले बताए ।

 सप्ताहव्यापी पुजा आराधनामा बुटवलसहित रुपन्देही, पाल्पा र छिमेकी जिल्लाबाट भक्तजनहरू आउने गौतमले बताए । सप्ताहव्यापी पुजाआराधनामा गुहावटी र नेपालका ११ जना पण्डितहरूले धार्मिक प्रवचन दिंदैछन् ।

 कामाख्यादेवीको मन्दिरसहित भगवती मन्दिर, गणेश मन्दिर, कैलाश पर्वत, वर पिपल, ढुङ्गे धारा, पोखरी आदि संरचनाहरू निर्माणले वसन्तपुर एउटा धार्मिक गन्तव्य बनेको लुम्बिनी केबलकारका इन्जिनियर सन्नी चौरसियाले बताए । सप्ताहव्यापी पुजा आराधनाकै बीचमा जेठ १५ गतेदेखि केबलकारको व्यावसायिक सञ्चालन हुने इन्जिनियर चौरसियाले बताए ।

 केबलकार सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकासँग त्रिपक्षीय सम्झौता भइसकेको छ । लुम्बिनी केबलकार प्रालिले प्रति टिकट शुल्कको २ प्रतिशत रकम दुई वटा पालिकाका लागि छुट्टाउने छ । बुटवलको गोलपार्क बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका–३ वसन्तपुरसम्म ३ किलोमिटर दुरीको  केबलकार लुम्बिनी प्रदेशको पहिलो केबलकार हो ।

आईएमई ग्रुपले सञ्चालनमा ल्याउन लागेको यो तेस्रो केबलकार हो । यसअघि आइएमई समूहले काठमाडौँको चन्द्रागिरि र हालै नवलपुरको गैँडाकोटमा मौलाकालिका केबलकार सञ्चालनमा ल्याइसकेको छ ।

अध्यक्ष चन्द्रप्रसाद ढकालले लुम्बिनी केबलकार सञ्चालनले वसन्तपुरमा नयाँ धार्मिक र पर्यटकीय गन्तव्य थपिएको बताए ।  भारतको गोरखपुर, लखनउ लगायत विभिन्न सहरका भारतीयलाई आकर्षित गर्न सकिने  सम्भावना देखेर केबलकारमा लगानी गरिएको बताए ।

केबलकार र रिसोर्ट सहितको आयोजनाको कुल लागत ५ अर्ब रुपैयाँ छ । पहिलो चरणमा केबलकारमा डेढ अर्ब लगानी भएको छ । टप स्टेसनमा पर्यटकका लागि भेज र नन भेज छुट्टाछुट्टै रेस्टुरेन्ट बनिसकेका छन् भने बाल उद्यान, स्काई जीप लाइन निर्माणको क्रममा छन् ।

१० महिना अगाडि

प्रतिक्रिया