प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको औपचारिक घोषणा

१० महिना अगाडि

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको औपचारिक घोषणा भएको छ ।

नेपालको परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले एकसाथ प्रधानमन्त्री प्रचण्डको आगामी १७ देखि २० जेठसम्म हुने भ्रमणको औपचारिक मिति घोषणा गरेका हुन् ।भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणमा हुन लागेको प्रधानमन्त्री प्रचण्डको चार दिने भ्रमणका क्रममा भारतीय राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखरसँग शिष्ट्राचार भेट गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको भ्रमण टोली स्वकीय सचिव गंगा दाहाल, नेपाल सरकारका मन्त्री, सचिव र वरिष्ठ अधिकारी सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणको दोस्रो दिन १८ जेठमा प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ । वार्तापछि दुई प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नेछन् । सोही दिन मोदीले प्रधानमन्त्री प्रचण्ड र उनको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्नेछन् ।

त्यसपछि नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतीय उद्योग परिसंघ (सीआईआई)ले संयुक्त रुपमा आयोजना गरेको नेपाल(भारत व्यापार शिखर सम्मेलनलाई प्रधानमन्त्रीले सम्बोधन गर्नुका साथै दुवै देशका व्यापारीसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री प्रचण्डले भारतका लागि नेपाली राजदूत शंकर प्रसाद शर्माले आयोजना गरेको स्वागत समारोहमा भारतमा रहेका नेपाली समुदायसँग पनि कुराकानी गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्रीले भ्रमणको तेस्रो दिन १९ जेठमा भारतको मध्य प्रदेशको उज्जैन र इन्दोरको पनि भ्रमण गर्ने कार्यक्रम छ ।

नेपालको प्रधानमन्त्रीका रुपमा प्रचण्डको यो चौथो भारत भ्रमण हो । यस भ्रमणले नेपाल र भारतबीचको सदियौं पुरानो, बहुआयामिक र सौहार्दपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास नेपाली पक्षले लिएको छ ।

 

१० महिना अगाडि

प्रतिक्रिया