दरबार हाइस्कुलमा शनिबार पनि पठनपाठन

१० महिना अगाडि

काठमाडौँ - ऐतिहासिक धरोहर मानिने दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) मा शिक्षामा सीप कार्यक्रम सञ्चालन भएसँगै शनिबार पनि पठनपाठन गर्न थालिएको छ । 

विद्यालयमा शिक्षामा सीप कार्यक्रमअन्तर्गत सौन्दर्य कला, बिजुली जडान तथा मर्मत कार्यक्रमलाई छनोट गरिएको छ । उक्त कार्यक्रम शुक्रबार मात्रै गर्ने भनिए पनि समय अपुग भएपछि शनिबार पनि अतिरिक्त क्रियाकलाप अन्तर्गत शिक्षामा सीप  कार्यक्रम  पठनपाठन गरिएको विद्यालयका प्रधानाध्यापक शारदा पौडेलले जानकारी दिनुभयो । 

ऐतिहासिक धरोहर दरबार हाइस्कुललगायत महानगरका सबै सामुदायिक विद्यालयमा यही शैक्षिक सत्रदेखि माध्यमिक तह कक्षा ९ देखि १२ सम्म थालनी गरेको शिक्षामा सीप कार्यक्रम लागू गरेको छ । पाठ्यपुस्तकबाट प्राप्त हुने सैद्धान्तिक ज्ञानसँगै जीवन उपयोगी, सीपमूलक तथा व्यावहारिक शिक्षा प्रदान गर्ने उद्देश्यसहित कामपाले गत वैशाख १२ गतेदेखि उक्त कार्यक्रम लागू गरेको हो ।  

 विद्यालय तह पूरा गर्दा कम्तीमा एउटा प्राविधिक क्षेत्रमा स्वरोजगार हुनसक्ने जनशक्ति तयार गर्ने महानगरको उद्देश्य हो । उक्त कार्यक्रमअन्तर्गत ९० घन्टे कार्यक्रमका लागि कृषि तथा सहरी खेती, सौन्दर्य कला र कपाल शैली, काष्ठकला नङ कुँदेर बेलबुट्टा भर्ने काम, पाक कलालगायत १० क्षेत्र निर्धारण गरिएका छन् ।

त्यसैगरी, फेसन डिजाइन र कपडा सिकाइ, घरमा तार र बिजुली जडान वायरिङ एन्ड इलेक्ट्रिकल, विपद् पूर्वतयारीका लागि भवन निर्माणको रैथाने परम्परागत कला, मोबाइल र विद्युतीय सामान, पाइप जडान तथा मर्मत, कला र मूर्तिकला विधालाई पाठ्यक्रममा समावेश गरिएको छ । अहिले महानगरमा ८९ सामुदायिक विद्यालय छन् । त्यसमा ५९ मावि र ३० प्राथमिक विद्यालय छन् । त्यसैगरी, पाँच सय ४० निजी विद्यालयमा एक लाख ५० हजार विद्यार्थी अध्ययनरत छन् ।

कामपाले यसै शैक्षिक सत्रदेखि बुक फ्री फ्राइडे कार्यक्रम पनि सुरु गरेको छ । उक्त कार्यक्रमअन्तर्गत शुक्रबार विद्यार्थीले किताब बोकेर विद्यालय जानुपर्ने छैन भने अतिरिक्त क्रियाकलाप गरेर घर फर्कन्छन् । बुक फ्री फ्राईडे कार्यक्रम कामपाको सबै सामुदायिक विद्यालयको  सञ्चालन भइरहेको छ ।  रासस
 

१० महिना अगाडि

प्रतिक्रिया