राष्ट्र बैंकले आजबाट २९ अर्ब १३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्दै

आइतबार, १४ जेठ २०८०, ०७ : ००

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज (जेठ १४ गते आइतबार) बाट रु २९ अर्ब १३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोलको प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

बैंकले यसअघि यही जेठ ८ गते पनि केन्द्रीय बैंकले रु ३४ अर्ब २० करोड बराबरको ट्रेजरी बिलको बोलकबोल प्रक्रियामार्फत बिक्री गरेको थियो । पछिल्लो पटक बिक्री गर्न लागिएको ट्रेजरी बिल २८ दिने अवधिदेखि तीन सय ६४ दिने अवधिसम्मको छन् । आन्तरिक ऋण उठाउने प्रयोजनका लागि राष्ट्र बैंकले उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

केन्द्रीय बैंकका अनुसार हाल ट्रेजरी बिलको अल्पकालीन ब्याज सात दशमलव ९१ प्रतिशत बराबर रहेको छ । यस्तै तीन सय ६४ दिनको ब्याज भने आठ दशमलव ८० प्रतिशत बराबर छ । अन्तरबैंक ब्याजदर भने सात प्रतिशत बराबर छ ।

आइतबार, १४ जेठ २०८०, ०७ : ००

प्रतिक्रिया