७ गुणाले बढ्यो रेमिट्यान्स आयात

सोमबार, १५ जेठ २०८०, १६ : ११

काठमाडौँ । १५औं पञ्चवर्षिय आयोजनाको अन्तिमसम्ममा मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को आकार ५३ खर्ब ८१ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । 

यस्तो आकार तीन पञ्चवर्षिय आयोजना अर्थात् १५ वर्षअघि(आर्थिक वर्ष २०६४/६५) सम्म जम्मा ८ खर्ब १५ अर्ब ७० करोड रुपैयाँ हाराहारी मात्र रहेको थियो । 

 समीक्षा अवधिमा कुल राष्ट्रिय उत्पादनमा ४५ खर्ब ६५ अर्ब ६० करोड रुपैयाँले थपिएको हो । 

 यस्तै समीक्षा अवधिमा नेपालीहरुको प्रति व्यक्ति आय (जीडीपीका आधारमा) ४९१ अमेरिकी डलरबाट बढेर १३ सय ९९ डलर पुगेको समेत राष्ट्रिय योजना आयोगले जनाएको छ । 

 समीक्षा अवधिमा आयात २ खर्ब २१ अर्ब ९४ करोड रुपैयाँबाट बढेर १९ खर्ब २० अर्ब ५० लाख रुपैयाँ पुगेको छ भने निर्यात ५९ अर्ब २७ करोडबाट बढेर २ खर्ब रुपैयाँ पुगेको आयोगले जनाएको छ । 

यसैगरी विप्रेषण आय (रेमिट्यान्स) १ खर्ब ४२ अर्ब ७० करोडबाट बढेर १० खर्ब ७ अर्ब ३० करोड हाराहारी पुगेको समेत राष्ट्रिय योजना आयोगले जनाएको छ । 

यस्तै, राजस्व १ खर्ब ७ अर्ब ६२ करोडबाट बढेर १० खर्ब ६६ अर्ब ४० करोड रुपैयाँ पुगेको छ भने सार्वजनिक ऋणको आकार समेत ३ खर्ब ६६ अर्बबाट बढेर समीक्षा अवधिमा २० खर्ब ८० अर्ब १० करोड रुपैयाँ पुगेको आयोगले जनाएको छ । 

आयोगका अनुसार सार्वजनिक ऋण र जीडीपीको अनुपात हाल ३८.७ पुगेको छ । यसअघि आर्थिक वर्ष २०६४÷६५ मा यस्तो अनुपात ४४.९ रहेको थियो ।

समीक्षा अवधिमा राजस्व र जीडीपीको अनुपात २१.६ रहँदा करदाताहरुको संख्या बढेर ५३ लाख ४१ हजार १७८ जना पुगेको छ । आर्थिक वर्ष २०६४÷६५ मा यस्तो करदाताहरुको संख्या २ लाख ८७ हजार ९५८ मात्र रहेको थियो ।

सोमबार, १५ जेठ २०८०, १६ : ११

प्रतिक्रिया