कोशी प्रदेशमा डिजिटल साक्षरता कार्यक्रम

१० महिना अगाडि

काठमाडौँ - कोशी प्रदेशका ४ स्थानमा नागरिक एपसम्बन्धी डिजिटल साक्षरता कार्यक्रम सम्पन्न भएको छ। २०० भन्दा बढीको सहभागीतामा कोशी प्रदेशका ४ ठाउँमा नागरिक एपसम्बन्धी डिजिटल साक्षरता कार्यक्रम सम्पन्न भएको हो। 

साक्षरता कार्यक्रम विराटनगरको हिमालय दर्शन, इटहरीको कोशी कलेज, विराटचोकको सुकुना कलेज र उर्लाबारीको जय वशिष्ट रिसोर्टमा आयोजना भएको थियो। कार्यक्रममा प्रदेश सांसद, स्थानीय तहका जनप्रतिनिधि, स्थानीय बासिन्दा, कर्मचारी, व्यवसायी, शिक्षक, विद्यार्थी लगायत सरोकारवालाको सहभागिता थियो। 

राष्ट्रिय सूचना प्रविधि केन्द्रले गत जेठ ११ गतदेखि कर्णाली प्रदेशको जुम्लाबाट नागरिक एप सम्बन्धि डिजिटल साक्षरता कार्यक्रम सुरु गरेको थियो। नेपाल सरकारले केही वर्षअघि सरकारी सेवाहरू सजिलो, छिटो र सुरक्षित तरिकाले मोबाइलबाटै उपलब्ध गराउने उदेश्यसहित नागरिक एप प्रयोगमा ल्याएको थियो। उक्त एप सञ्चालनमा आए पनि साक्षरताको अभावमा अझै पनि धेरैले प्रयोग गरिरहेका छैनन्। त्यही कारण गाउँ–गाउँसम्म नागरिक चलाउन सिकाउने उद्देश्यले सातै प्रदेशमा डिजिटल साक्षरता कार्यक्रम सुरु गरिएको हो। 

अहिलेसम्म कर्णाली, सुदूरपश्चिम, लुम्बिनी, बागमती र मधेश प्रदेशका १५ बढी ठाउँमा साक्षरता कार्यक्रम सम्पन्न भइसकेको छ। 

नागरिक एपबाट फोकल पर्सनका रुपमा केन्द्रका कम्प्युटर इन्जिनियर प्रविण चौहान र नागरिक एपका परियोजना निर्देशक सन्तोष अर्यालले प्रस्तुती तथा नागरिक एप सम्बन्धि उठेका जिज्ञासालाई सम्बोधन गरिरहेका छन्। 

नागरिक एपसम्बन्धी डिजिटल कार्यक्रमको समापन जेठ २६ गते गण्डकी प्रदेशको पोखरामा हुनेछ। अहिलेसम्म नागरिक एप २७ लाख बढीले एप डाउनलोड गरेका छन् भने ५३ बढी सेवा उपलब्ध छन्। 

एन्ड्रोइड र आईओएसमा उपलब्ध एप डाउनलोड गरेर प्रयोग गर्न सबैलाई आग्रह गरिएको छ। प्रयोगकर्ताको गुनासो र अन्य सेवाहरु थप्दै यसलाई प्रभावकारी बनाउने काम भइरहेको छ।

नागरिक एप प्रयोग गर्न आफ्नो नाममा भएको मोबाइल नम्बर अनिवार्य गरिएको छ। त्यसपछि नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्र वा ड्राइभिङ लाइनसेन्सबाट खाता खोल्न सकिन्छ।

यद्यपी नागरिकता लगायत कतिपय व्यक्तिगत विवरण गलत देखाउने समेत गरेको प्रयोगकर्ताको गुनासो छ। यसलाई सम्बोधन गर्न केन्द्रले गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यलयहरुमा समन्वय गरेर विवरण सच्याउने काम गरिरहेको छ।

 

 

१० महिना अगाडि

प्रतिक्रिया