काठमाडौं - नेपाल पुनर्बिमा कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण बल्ल सार्वजनिक गरेको छ । कम्पनीले दोस्रो त्रैमाससम्म आइपुग्दा निर्जीवन बिमा व्यवसायतर्फ खुद नाफा विस्तार गरेको छ भने जीवन बिमातर्फ घटेको छ । गत वर्ष ३३ करोड ६१ लाख ८६ हजार रुपैयाँ रहेको निर्जीवन बिमा व्यवसायतर्फको खुद नाफा यो वर्ष ४६ करोड ४५ लाख ४६ हजार रुपैयाँ पुगेको छ ।
यता, गत वर्ष यसैअवधिमा ४ करोड ४७ लाख ५६ हजार रुपैयाँ नोक्सानमा रहेको जीवन बिमा व्यवसायतर्फको नोक्सानी यो वर्ष अझै बढेर १७ करोड २० लाख ७९ हजार रुपैयाँ पुगेको छ । पुस ममसान्तसम्म यस कम्पनीले निर्जीवन व्यवसायबाट १ अर्ब ७९ करोड ८६ लाख ७७ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ४ अर्ब १७ करोड ४० लाख ४२ हजार रुपैयाँ निर्जीवन व्यवसायबाट खुद बिमा शुल्क आर्जन गरेको थियो ।
त्यस्तै गत वर्ष यसैअवधिमा जीवन बिमा व्यवसायबाट ७८ करोड ४० लाख १८ रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेकोमा यो वर्ष १ अर्ब ८४ लाख ९६ हजार रुपैयाँमा सीमित भएको छ । यस अवधिसम्म पुनर्बिमा कम्पनीको चुक्ता पुँजी ११ अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।
पुस मसान्तसम्म यस कम्पनीको निर्जीवन व्यवसायतर्फको जगेडा कोषमा ५ अर्ब ८९ करोड १० लाख ५ हजार रुपैयाँ र जीवन बिमातर्फ २८ करोड ७६ लाख ८७ हजार रुपैयाँ जम्मा भएको छ । निर्जीवन बिमा कोषमा २ अर्ब ५१ करोड ६४ लाख ६१ हजार रुपैयाँ रहेको छ । जीवन बिमा कोषको विवरण भने रिपोर्टमा उल्लेख छैन । दोस्रो त्रैमाससम्म यस कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक २ रुपैयाँ ५१ पैसा र प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ ५४ पैसा रहेको छ ।
प्रतिक्रिया