काठमाडौं - नेपाल मैदा उद्योग संघको अध्यक्षमा कुमुदकुमार दुगड चयन भएका छन् । आइतबार काठमाडौंमा सम्पन्न २३ औं वार्षिक साधारण सभाले दुगडलाई दोश्रो कार्यकालको लागि अध्यक्ष पदमा निर्विरोध चयन गरेको हो । सभाले प्रथम उपाध्यक्ष दिनेश कुमार अग्रवाल, द्वितिय उपाध्यक्ष अरुण गोयन्का, तृतिय उपाध्यक्ष विकास बेगवानीलाई चयन गरेको छ ।
त्यस्तै, महासचिव राधेश्याम अग्रवाल, सचिव आनन्द ओझा, सचिव धिरज गोल्छा, सचिव सँजय अग्रवाल र कोषाध्यक्ष बिनोद कुमार अग्रवाललगायत १७ जनाको नयाँ सदस्यसहित कार्य समिति सर्वसम्मत चयन भएका छन् । सभाले मैदा शतप्रतिशत कृषि प्रोसेसिङ उद्योग भएकोले सरकारले मैदालाई कृषि उद्योगमा राखि सुविधा दिन पहल गर्ने निर्णय गरेको छ ।
नेपालमा गहुँको उत्पादन बढाउन नेपाल सरकार, किसान र व्यवसायी मिलेर दीर्घकालीन नीति तर्जुमा गर्ने, मैदाको कच्चा पदार्थ गहुँ नेपालको उत्पादनले मात्र नपुग्ने भएकाले भारतबाट आयात गर्नु पर्ने बाध्यताकारी परिस्थितिलाई सहज बनाउने लगायतका निर्णय समेत गरेको छ ।
साथै, मैदा नेपालमा आत्मनिर्भर भइसकेकोले विदेशबाट मैदा आयातको आवश्यक नपर्ने, नेपाल सरकारबाट निर्यात अनुदान दिएमा चिन लगायत तेस्रो मुलुकमा मैदा निर्यात गर्न सकिने हुँदा उद्योग संरक्षणको लागि निर्यात अनुदान प्रदान गर्नु पर्ने समेत निर्णय गरेको छ । बैक ब्याज एकल बिन्दुमा कायम गर्न पहल गर्ने र उद्योगकै नाममा गहुँ आयात गर्दा भन्सार दर १% कायम गर्न पर्ने माग संघको छ ।
प्रतिक्रिया