चिलिमे जलविद्युतले ५ वर्षअघिको नगद लाभांश लिन सेयरधनीलाई बोलायो

बुधबार, २४ जेठ २०८०, ०८ : ५७

 काठमाडौँ - चिलिमे जलविद्युत कम्पनीले ५ वर्षभन्दा पुरानो नगद लाभांश बुझिलिन आउन सेयरधनीहरुलाई आग्रह गरेको छ।

कम्पनीले आज एक सूचना प्रकाशित गरी आर्थिक वर्ष २०७३–७४को नगद लाभांश बुझिलिन आउन सेयरधनीहरुलाई आग्रह गरेको छ। उक्त आर्थिक वर्षको नगद लाभांश कतिपय सेयरधनीहरुले हालसम्म पनि बुझिलिन बाँकी रहेको कम्पनीले जनाएको छ। 

उक्त आर्थिक वर्षमा कम्पनीले कुल २५ प्रतिशत लाभांश वितरण गरेको थियो। जसमा १५ प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश थियो। यो लाभांश कम्पनीको २०७४ कात्तिक २४ गते बसेको २१ औँ वार्षिक साधारणसभाबाट पारित भएको थियो।

यो सूचना प्रकाशित भएको मितिले १ महिनाभित्र आफ्नो बक्यौता नगद लाभांश लिनका लागि कम्पनीको सेयर रजिस्ट्रार सिद्धार्थ क्यापिटलको काठमाण्डौको नक्सालस्थित कार्यालयमा सम्पर्क राख्न कम्पनीले आग्रह गरेको छ। 

तोकिएको समयभित्र बुझिलिन नआउने सेयरधनीहरुको नगद लाभांशबापतको रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने कम्पनीले जनाएको छ। 

बुधबार, २४ जेठ २०८०, ०८ : ५७

प्रतिक्रिया