५ दिने कार्यशाला आयोजना गर्दै एनपीनग

९ महिना अगाडि

काठमाडौँ - नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एनपीनग) ले पाँच दिने कार्यशाला आयोजना गर्ने भएको छ । यही असार  ३  देखि ८ सम्म सञ्चालन हुने कार्यशाला काठमाडौंको  होटल रोयल सिङ्घी र होटल एलफ्ट हुने भएको हो ।

एनपी नग(एट नामक यो कार्यक्रम अन्तर्गत पाँच दिने कार्यशाला र  १ दिने सम्मेलन आयोजना हुने छ । कार्यशालामा नेटवर्किङ एवम् सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा संलग्न व्यवसायिक विज्ञहरूबाट दुई ओटा विषयगत क्षेत्रमा तालिम सञ्चालन गरिने आयोजकले जनाएको छ । इन्टरनेट एक्सचेञ्ज नेपाल (एनपीआईएक्स) तथा नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एनपीनग)ले उक्त कार्यशाला संयुक्त रुपमा सञ्चालन गर्ने छन् । जसमा नेटवर्क सेक्युरिटी, अप्टिकल फाइबर नेटवर्क एन्ड इन्फ्रास्टक्चर र बीजीपी एन्ड आईपीभीसिक्स डिप्लोयमेन्ट जस्ता विषय रहेका छन् ।

कार्यक्रमको अन्तिम दिन सम्मेलन आयोजना हुनेछ र उक्त कार्यक्रममा आईटी सम्बन्धी विज्ञहरूले आ-आफ्ना कार्यपत्र प्रस्तुत गर्ने छन् । उक्त तालिम कार्यक्रममा सूचना सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत करीब १५० जना भन्दा बढी सहभागी हुने अपेक्षा गरिएको छ ।

एनपीआईएक्सका प्रबन्ध निर्देशक रुपेशभक्त श्रेष्ठका अनुसार यो कार्यक्रमले सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा लागेका समुदायको पारस्परिक ज्ञान आदान प्रदानमा सहयोग पुग्नेछ । “कार्यशालामा व्यवसायिक विज्ञहरूले स्वयंसेवाको रूपमा तालिम दिनेछन्,” कार्यक्रमको बारेमा जानकारी दिंदै श्रेष्ठले भने ।

एनपी नगका अध्यक्ष समित जनले वर्षको दुई ओटा कार्यक्रम गर्ने गरेको बताए । “हामीले एउटा काठमाडौंमा र अर्को काठमाडौं बाहिर आयोजना गर्ने गरेका छौं,” उनले भने ।

जनले देशको लागि सक्षम व्यावसायिक प्रावधिक जनशक्ति तयार पार्ने कार्यमा एनपी नगको भूमिका सधैं उच्च रहने प्रतिबद्धता जनाए ।

९ महिना अगाडि

प्रतिक्रिया