महालक्ष्मी लाइफको साधारण सभा सम्पन्न

आइतबार, २८ जेठ २०८०, ०८ : १८

काठमाडौं  - महालक्ष्मी लाइफ इन्सुरेन्सको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । अध्यक्ष मनोरञ्जन रमण शर्माको अध्यक्षतामा वार्षिक साधारण सभा सम्पन्न भएको हो । सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्दै जीवन बिमा क्षेत्रको वर्तमान अवस्था, विद्यमान समस्या र आगामी हुने मर्जर बारेमा जानकारी गराए । 

अध्यक्ष शर्माले वार्षिक प्रतिवेदन पेस गर्दै कम्पनीको वर्तमान वित्तीय स्थिति र भावी कार्यक्रम सम्बन्धमा पनि प्रकाश पारे । सभाले अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन सहित आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब र अन्य वित्तीय विवरण पास गरेको छ । यसै गरी साधारण सभामा प्रभु लाइफ इन्सुरेन्स र महालक्ष्मी लाइफ इन्सुरेन्स एक आपसमा गाभ्ने/गाभिने, गाभे पछि कम्पनीको नाम ‘प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड’ कायम हुने प्रस्ताव पारित भएको छ । 

दुवै कम्पनीको सेयर अनुपात १ः१ कायम गरी गाभ्ने/गाभिने, दुवै कम्पनी एक आपसमा गाभ्दा/गाभिदा भएको अन्तिम सम्झौता पत्र लगायत अन्य सहमति अनुमोदन गर्ने, सम्पत्ति दायित्वको मूल्याङ्कन गर्न नियुक्त लेखा परीक्षक र निजको पारिश्रमिक अनुमोदन गर्ने लगायतका प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । 

कार्यक्रमको अन्त्यमा सञ्चालक उमेशलाल श्रेष्ठले सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । कम्पनी सचिव कमल पन्थीले सञ्चालन गरेको कार्यक्रममा बिमा  प्राधिकरणको निर्देशन अनुसार असार मसान्त भित्र दुवै कम्पनी मर्ज भई एकीकृत कारोबारमा जाने जानकारी गराइएको छ ।

आइतबार, २८ जेठ २०८०, ०८ : १८

प्रतिक्रिया