काठमाडौँ - रामेछाप जिल्लाको सदरमुकाम मन्थली र सोही जिल्लाको सुनापति गाउँपालिका–४ बेथानमा हाइमास्ट र स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरिएको छ ।
नेपाल विद्युत् प्राधिकरणले पालिकाहरूसँगको साझेदारीमा मन्थली नगरपालिका र बेथानको मुख्य–मुख्य चोकहरूमा हाइमास्ट र सडकमा बत्ती राखेको हो ।बत्ती राखेपछि रातिको समयमा ती क्षेत्रहरू झिलिमिली बनेका छन् । मन्थली नगरपालिमा पर्ने करिब ६ किलोमिटर सहरी क्षेत्रमा कम विद्युत् खपत गर्ने तर बढी उज्यालो दिने ऊर्जा दक्षतायुक्त १७० वटा सडक बत्ती जडान गरिएको छ । जसमा ६० वाटका एस्ट्रो लाइट १९ वटा, ६० वाटकै स्मार्ट लाइट ८० वटा र ९० वाटका स्मार्ट लाइट ७१ वटा जडान गरिएको छ ।
.
बसपार्क र विनीता चोकमा १२.५ मि. अग्लो पोलमा चारै दिशामा उज्यालो छर्ने अत्याधुनिक हाइमास्ट लाइट जडान गरिएको छ । ती क्षेत्रमा कम विद्युत् खपत गर्ने तर उज्यालो बढी दिने बत्ती जडान गरिएको हो । सडक बत्तीको लागत एक करोड ५६ लाख रुपैयाँ रहेको छ । यसैगरी, सुनापति गाउँपालिकाको बेथान क्षेत्रमा ३३१ स्मार्ट लाइट जडान गरिएको छ । जसमा ६० वाटका एस्ट्रो र स्मार्ट लाइट क्रमशः १४८ र १८३ वटा रहेका छन् । १२.५ मि. अग्लो पोलमा ३ वटा हाइमास्ट लाइट जडान गरिएको छ । सडक बत्तीको लागत २ करोड रुपैयाँ रहेको छ ।
मन्थली क्षेत्रमा जडान गरिएको सडक बत्तीको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र नगरपालिकाका प्रमुख लव श्रेष्ठले संयुक्त रूपमा उद्घाटन गरेका थिए । बेथानमा जडान गरिएको बत्तीको कार्यकारी निर्देशक घिसिङ र सुनापति गाउँपालिकाका अध्यक्ष ठूलोकान्छा तामाङले संयुक्त रूपमा उद्घाटन गरे ।
कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले विद्युत् पुगेका ठाउँमा भइरहेको लोडसेडिङको अन्त्यपछि अहिले २४ सै घण्टा अँध्यारोमा बसिरहेका प्रत्येक नागरिकको घरमा विद्युत् पुर्याउने काम अभियानकै रूपमा भइरहेको बताए । ‘देशभित्र उत्पादित विद्युत् यही खपत गर्ने, हिउँदमा मागअनुसार अपुग रहेको विद्युत् पुग्ने गरी जलविद्युत आयोजनाहरू बनाउने र वर्षा याममा देशभित्र खपत गरी बढी भएको विद्युत् निर्यात गर्ने रणनीतिका साथ अगाडि बढेका छौँ’, कार्यकारी निर्देशक घिसिङले भने ।
स्ट्रिट लाइटले रातको समयमा सडकको यात्रा सुरक्षित र सडक तथा सहरी सौन्दर्यलाई वृद्धि गरी रात्रिकालीन सौन्दर्ययता बढाउने छ । सडक बत्तीको महसुल सम्बन्धित पालिकाहरूले तिर्ने व्यवस्था गरिएको छ । प्राधिकरणको प्रणालीमा रहेको फिडर प्यानलबाट स्वचालित रूपमा स्मार्ट लाइटलाई नियन्त्रण गर्न सकिन्छ । स्मार्ट बत्ती प्राधिकरणको सर्भरसँग सिधै जोडिएको छ ।
सफ्टवेयरबाटै अँध्यारो हुँदा बत्ती बल्ने र उज्यालो हुँदा निभ्ने स्वचालित व्यवस्था छ । सफ्टवेयरबाट विद्युतको महसुलको बिलिङ गरिन्छ । बत्ती बले÷नबलेको अनुगमन पनि सफ्टवेयरबाटै गर्न सकिन्छ । प्राधिकरणले उज्यालो सहर अभियानअन्तर्गत पालिकाहरूसँगको समन्वय र साझेदारीमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदाहरू, विश्व सम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थानहरूमा सजावटयुक्त आधुनिक बत्ती (स्मार्ट लाइट) जडान गरिरहेको छ ।
ठेक्का सम्झौताअनुसार सडक बत्ती नियमित मर्मत सम्भार पाँच वर्षसम्म निर्माण व्यवसायी कम्पनीले गर्नेछ । पोल, तार, बत्तीलगायतका संरचनाहरू प्राधिकरणकै स्वामित्वमा रहने छन् । यसबाट सहरको सौन्दर्य अभिवृद्धि हुने, विद्युत् माग बढ्ने र रातिको खेर जाने विद्युत् पनि खपत हुने प्राधिकरणको विश्वास छ ।
प्रतिक्रिया