वीरगञ्ज - वीरगञ्जको आदर्श नगरमा मुख्य कार्यालय रहेको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक सम्पर्कविहीन भएपछि सहकारीमा रकम जम्मा गरेका सयौँ स्थानीय बासिन्दा बिचल्लीमा परेका छन् ।
बचतकर्ताहरूले सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा धर्ना समेत दिएका छन् । सहकारीका सञ्चालक तथा सदस्यहरु सम्पर्कविहीन भएपछि कार्यालय खुले पनि कर्मचारी मात्रै बस्दै आएका छन् ।
दिनहुँ सहकारीको कार्यालयमा पैसा जम्मा गर्ने सयौँ व्यक्तिहरू पुग्दा कर्मचारीहरूले तनाव झेल्नुपरेको छ । निम्न तथा मध्यम वर्गीय व्यक्तिहरूले खाई नखाई गरी जम्मा गरेको झण्डै २ अर्ब रुपैयाँ लिएर सञ्चालकहरू सम्पर्कविहीन भएको आरोप बचतकर्ताहरूको छ ।
२० लाख जम्मा गरेका एक बचत कर्ताले आफ्नो रकम निकाल्न खोज्दा खातामा रकम नरहेको भन्दै एक पटकमा ५ हजार सम्म मात्रै दिन सकिने कर्मचारीले सुनाएको बताए ।
आज पैसा लिन पुगेका सयौँ बचतकर्ताहरू पैसा नपाएपछि धर्नामा बसेका छन् ।
उत्पन्न समस्याका बारेमा पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले समाधानका लागि पहलकदमी गर्ने बताउनुभयो । उहाँले सानो पाइलाका सञ्चालकले बचतकर्ताको पैसा लिएर फरार भएको भए उनीहरुलाई खोजी गरी पक्राउ गरेर कारवाहीको दायरामा ल्याउने बताउनुभयो ।
वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले सर्वसाधारण बचतकर्ताको रकम पचाउने हिम्मत कसैको नभएको भन्दै पीडितको पक्षमा आफू रहेको र यसको लागि कानुनी उपचार खोजिने बताउनुभएको छ ।
प्रतिक्रिया