बागलुङ- इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा बचतकर्ताहरुले आइतबार टर्च लाइट बालेर प्रदर्शन गरेका छन्।
बागलुङ, पोखरा बुर्तिबाङ लगायतको शाखामा भएको एक अर्बभन्दा बढी रकम हिनामिना गरेर फरार भएका सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपाली सहित सहकारीका संचालहरुलाई पक्राउ गर्न प्रशासनलाई दबाब दिन बचतकर्ताहरुले टर्च लाइट बालेर प्रदर्शन गरेका हुन्।
पीडित बनेका बचत कर्ताहरुको इमेज बचतकर्ता संघर्ष समितिले बागलुङ बजारमा रहेको सहकारीको भवनदेखि बजारभरी टर्च लाइट बालेर खोजी गर्दै नाराबाजी गरेका थिए। संघर्ष समितिका संयोजक डिलबहादुर कार्कीले बचत रकम हिनामिना गरेर फरार भएका देवकुमार नेपाली सहितका संचालक समितिलाई प्रशासनले पक्राउ गर्न ढिला गरेको भन्दै दबाब स्वरुप टर्च लाइट बालेर प्रदर्शन गरेको बताए।
देवकुमार नेपाली इमेज बचत तथा सहकारी संस्था लिमिटेडका संस्थापक अध्यक्ष एवम् ढोरपाटन नगरप्रमुख
प्रहरी प्रशासनले खोजी गरिरहेपनि ढिलासुस्ती गरेको बताए बताउदै ‘फरार देवकुमार नेपाली सहितको टोलीलाई प्रहरी प्रशासनले खोजी गर्नमा ढिलाई गरेको आरोप लगाएका छन् ,’ कार्कीले भने,‘खोजी कार्यमा ढिला भएको महसुस भएर चाँडो पक्राउ गर्नको लागि दबाब दिन टर्च लाइट बालेर प्रदर्शन गरेको हौं।’
देशभरका सहकारी र लघुवित्तका पीडितहरुले साउन १८ गते काठमाडौंमा प्रदर्शन गर्ने कार्यक्रम रहेको बताउँदै सबैलाई काठमाडौंमा जानको लागि आव्हान गरेका थिए। इमेज बचत तथा सहकारीका पीडित बचतकर्ताहरुले आइतबार साँझ एकै साथ बागलुङ बजार, गलकोटको हटिया बजार र ढोरपाटनको बुर्तिबाङ बजारमा टर्च लाइट बालेर विरोध प्रदर्शन गरेका थिए।
ढोरपाटन नगरपालिकाका नगरप्रमुखसमेत रहेको नेपाली गतजेठ ५ गतेदेखि फरार रहेका छन्। नेपाली सहित सहकारीका संचालकका विरुद्धमा प्रहरीमा १ हजार ४ सय ८१ जना बचतकर्ताले मुद्वा दर्ता गरेका छन्। नेपालीसहित सहकारीका संचालक र कर्मचारी गरि ११ जना विरुद्ध बचतकर्ताले जिल्ला अदालत बागलुङमा रु १ अर्ब ३० करोड विगो दाबी गरी ठगी मुद्दा दर्ता गरेका छन्।
प्रतिक्रिया