सामाजिक सुरक्षा कोषले ९ दशमलव २५ प्रतिशतमा घर तथा शैक्षिक सापटी दिने

सोमबार, १५ साउन २०८०, १० : १९

काठमाडौंः  सामाजिक सुरक्षा कोषले घर तथा शैक्षिक सापटी अब ९.२५ प्रतिशत वार्षिक ब्याजदरमा दिने भएको छ । 

कोषले साउनको १ गतेदेखि कार्यान्वयनमा ल्याएको योगदानकर्ता वृद्धावस्था सुरक्षा योजना, विशेष सापटी योजना र घर तथा शैक्षिक सापटीमा उक्त ब्याजदर तोकेको हो । यसअघि गत सालको २८ गते बसेको कोषको बैठकले योगदानकर्ताका लागि घर, शैक्षिक र सामाजिक कार्य सापटीमा वार्षिक ब्याजदर ९.७५ प्रतिशत, विशेष सापटीमा ९.१ प्रतिशत ब्याजदर तोकेको थियो।

गत वर्षको तुलनामा घर तथा शैक्षिक सापटी र विशेष सापटीमा व्याजदर कम गरेको हो । योगदानकर्तालाई प्रदान गर्ने सुविधालाई सहज र फराकिलो बनाउन वार्षिक ब्याजदरमा केही हदसम्म भए पनि कमी गरिएको कोषले जनाएको छ ।

त्यस्तै योगदानकर्ताले वृद्धावस्था सुरक्षा योजनामा जम्मा गरेको रकममा प्रदान गर्ने वार्षिक ब्याजदर ७.५ प्रतिशत, अवकाश कोषबाट योगदानकर्ताले लिएको विशेष सापटीमा कोषले लिने वार्षिक ब्याजदर ८.६ प्रतिशत कायम गरेको छ । सञ्चालक समितिको असारको अन्तिम सातामा बसेको बैठकले विभिन्न योजनामा नयाँ ब्याजदरको निर्धारण गरेको हो ।
 

सोमबार, १५ साउन २०८०, १० : १९

प्रतिक्रिया