काठमाडौं- माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।
विवरण अनुसार बैंकको लाभांश क्षमता १५ प्रतिशतभन्दा बढी देखिएको छ। बैंकको लाभांश क्षमता, गत आर्थिक वर्षको अन्त्यसम्ममा प्रतिशेयर १५ रुपैयाँ २९ पैसा अर्थात १५.२९ प्रतिशत पुगेको छ। बैंकको वितरणयोग्य मुनाफा १६२.६६ प्रतिशत बढेर १ अर्ब ५६ करोड ८७ लाख पुगेसँगै बैंकको लाभांश क्षमता पनि बढ्न पुगेको हो।
बैंकको खुद नाफा भने ९.७५ प्रतिशत मात्र बढेको छ। अघिल्लो आर्थिक वर्ष १ अर्ब ६८ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको यस बैंकले गत आर्थिक वर्षको सोही अवधिसम्ममा १ अर्ब ८५ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा सामान्य बढेसँगै बैंकको खुद नाफा पनि सामान्य बढ्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १०.४३ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ३.१७ प्रतिशत घटेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी ८.३२ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ९.९१ प्रतिशत बढेको छ।
समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा १.०४ प्रतिशतबाट २.१२ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज ८२ करोड रुपैयाँ पुगेको छ। नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ।
१० अर्ब २५ करोड ७१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ६ अर्ब ६ करोड ४८ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप ६.३१ प्रतिशत बढेको छ भने कर्जा लगानी १.६४ प्रतिशत घटेको छ।
प्रतिक्रिया