किड्स कलेज र नामीद्वारा एआई शैक्षिक कार्यक्रम सञ्चालन गर्न साझेदारीको घोषणा

विहीबार, १८ साउन २०८०, १६ : ५६

काठमाडौँ - उद्यमशील शिक्षामा अग्रणी काठमाडौंस्थित किंड्स कलेज तथा नेपालको शीर्ष अनुसन्धान संस्थान नेपाल अप्लाइड म्याथमेटिक्स् एण्ड इन्फरमेटिक्स् इन्स्टिट्युट फर रिसर्चले संयुक्तरुपमा आर्टिफिसियल इन्टेलीजेन्ससम्बन्धी शैक्षिक पाठ्यक्रम सञ्चालन गर्ने घोषणा गरेका छन् । 

उद्यमशीलताका साथमा सूचना प्रविधिको अध्ययन-अध्यापनलाई प्राथमिकता दिँदै आएको किंड्स कलेज र एआई शिक्षालाई सबैको माझ पुर्याउनुपर्छ भन्ने प्राथमिकता भएको वैज्ञानिक अनुसन्धान संस्थान नामीले आज एक साझेदारी सम्झौतामा हस्ताक्षर गर्दै छिट्टै नै एआई शैक्षिक पाठ्यक्रमअन्तर्गतको ६ महिने कक्षा सञ्चालन गर्ने जनाएका छन् । यी दुई संस्थाको सहकार्यमा भविष्यमा आर्टिफिसियल इन्टेलीजेन्ससम्बन्धी विभिन्न विशिष्ट तथा एकीकृत पाठ्यक्रमको विकास गरी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने बताइएको छ ।

किड्स कलेज र नामीले व्यक्ति तथा संस्थाहरूको विशिष्टीकृत आवश्यकता परिपूर्ति गर्नको लागि आवश्यक उच्च गुणस्तरीय शैक्षिक कार्यक्रमको डिजाइन गरी वितरण गर्नको लागि हातेमालो गरेका हुन् । कार्यक्रमको प्रथम चरणमा सूचना प्रविधि तथा इञ्जिनियरिङ्ग विधामा काम गरिरहेका व्यक्तिहरुलाई लक्षित गरे तापनि पछि आर्टिफिसियल इन्टेलीजेन्स् क्षेत्रमा रुचि राख्ने जो कसैले पनि यस शैक्षिक शिक्षण कार्यक्रममा सहभागी हुन पाउने जानकारी कलेजले दिएको छ । तथापि यस कार्यक्रममा सहभागी हुन चाहनेहरुले पाइथन प्रोग्रामिङ् चलाउन जानेको हुनुपर्ने छ ।

किड्स कलेजका प्रेसिडेन्ट नरोत्तम अर्यालले “पछिल्लो समय विश्वमै मूलधार प्रवृत्तिको रुपमा विकास भइरहेको आर्टिफिसियल इन्टिलीजेन्स्‌को क्षेत्रमा नेपालले पनि फड्को मार्न सकोस् भन्ने उद्देश्यका साथ यस शैक्षिक कार्यक्रमका लागि नामीसँग साझेदारी गरिएको हो, भन्दै एआई शैक्षिक कार्यक्रमको उपादेयतामाथि प्रकाश पारेका थिए । साथै उनले समय सापेक्ष समाजको आवश्यकताअनुसार नयाँ-नयाँ शैक्षिक कार्यक्रम संचालन गर्दै शिक्षामा नवीनतम प्रयोग गर्दै आएको किंड्स कलेजले शिक्षामा एआईको प्रयोगले ल्याउन सक्ने अवसरलाई आत्मसात गर्दै यो कदम चालेको हो भनेर एआई शैक्षिक कार्यक्रमको बारेमा जानकारी दिएका छन् । आर्टिफिसियल इन्टेलीजेन्स सम्बन्धी हामीले सञ्चालन गर्न लागेको शिक्षण कार्यक्रम सोही परियोजनाहरू मध्येको एक हो, जसबाट हासिल हुने ज्ञानले नेपालमा पनि विभिन्न जटिल क्रियाकलापहरू सहजताका साथ सम्पन्न गराउन सकिने एवं आर्थिक क्षेत्रमा चलायमान ल्याउन सकिने मैले विश्वास लिएको छु''  उनले भने ।

यसका साथै विद्यार्थीहरुले आर्टिफिसियल इन्टेलीजेन्स क्षेत्रमा रोजगारीका साथसाथै व्यवसायमा पनि सफलता हासिल गर्न सकून् भन्ने उक्त कार्यक्रमको अभिप्राय रहेको छ । “विश्वव्यापी क्षेत्रमा आर्टिफिसियल इन्टिलिजेन्स्‌को तीब्र विकास भइरहेको परिप्रेक्षमा नेपालमा पनि यस क्षेत्रप्रति आम मानिसको चासो र रुचि बढिरहेको यथार्थलाई ध्यानमा राखी यस बारे विश्वका उत्कृष्ट प्रयोगशाला र विश्वविद्यालयमा अध्यापन र अन्वेषण गरिरहेका एआई विज्ञहरूको प्रत्यक्ष संलग्नतामा प्राज्ञिक शिक्षा प्रदान गरिने छ” नामीका संस्थापक तथा निर्देशक डा.विशेष खनालले जानकारी दिए । “एआईलाई प्रयोग गर्ने मात्र नभई विश्व बजारमा प्रतिस्प्रधा गर्न सक्ने एआई आधारित सफ्टवेयरहरू बनाउन सक्ने जनशक्ति देशभित्र तयार गर्ने यस शैक्षिक कार्यक्रमको उद्देश्य हुनेछ उनले भने।

किड्स कलेज र नामीको साझेदारीमा सञ्चालन हुनलागेको उक्त एआई शैक्षिक कार्यक्रमबाट नेपालको शिक्षा क्षेत्रमा नविनतम् प्रविधिद्वारा प्रयोगात्मक र गुणात्मक शिक्षाको विकास हुने र विश्वबजारमा प्रतिस्प्रधा सक्ने जनशक्ति तयार हुने विश्वास लिईएको छ ।

विहीबार, १८ साउन २०८०, १६ : ५६

प्रतिक्रिया