काठमाडौँ - ग्लोबल आइएमई लघुवित्त वित्तीयको आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक भएको छ ।
उक्त विवरण अनुसार संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर ४.३० प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म एनपीएल १.६४ प्रतिशत थियो।
एनपीएल बढ्दा संस्थाको इम्पेयरमेन्ट चार्ज पनि बढेर ८ करोड ४५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो चार्ज १ करोड ६७ लाख रुपैयाँमा सीमित थियो।
खराब कर्जा बढेर इम्पेयरमेन्ट चार्ज बढ्दा समीक्षा अवधिसम्म संस्थाको खुद नाफा ४६.४४ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष २४ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकोमा समीक्षा अवधिसम्म घटेर १२ करोड ८७ लाख रुपैयाँमात्रै भएको छ।
समीक्षा अवधिसम्म संस्थाले १८ करोड ५८ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा ३४ करोड ३४ लाख रुपैयाँ रहेको थियो। यो हिसाबले संस्थाको सञ्चालन मुनाफा पनि ४५.८९ प्रतिशतले घटेको छ।
चौथो त्रैमासम्म संस्थाको खुद ब्याज आम्दानी पनि ७.२६ प्रतिशतले घटेर ५० करोड २० लाख रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष खुद ब्याज आम्दानी ५४ करोड १४ लाख रुपैयाँ भएको थियो।
चुक्तापुँजी ६१ करोड ८९ लाख रुपैयाँ रहेको संस्थाको रिजर्भको आकार भने १६.१४ प्रतिशतले बढेर ५२ करोड ८७ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा ४५ करोड ५२ लाख रुपैयाँ थियो।
चौथो त्रैमाससम्म संस्थाले ३ अर्ब १२ करोड रुपैयाँ निक्षेप संकलन गरी ७ अर्ब २८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाले २ अर्ब ९६ करोड रुपैयाँ निक्षेप संकलन गरी ८ अर्ब २४ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।
संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) पनि ५२.१७ प्रतिशतले घटेर २०.८१ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ४३.५१ रुपैयाँ थियो।
संस्थाको मूल्य आम्दानी अनुपात (पीई रेसियो) ५०.९९ गुणा र प्रतिसेयर नेटवर्थ १८५.४३ रुपैयाँ रहेको छ।
प्रतिक्रिया