काठमाडौं- गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा ३.८ प्रतिशतमात्र कर्जा प्रवाह भएको छ ।
१२ प्रतिशतले कर्जा प्रवाह गर्ने मौद्रिक नीतिको लक्ष्य एक चौथाइमा खुम्चिँदा त्यसले अर्थतन्त्रलाई सुस्त बनाएको बताइएको छ । अघिल्लो आवमा यस्तो कर्जा १३.१ प्रतिशतले बढेका बेला अर्थतन्त्रको आकार ५ प्रतिशतभन्दा माथिले बढेको थियो । गत वर्ष अर्थतन्त्रको आकार दुई प्रतिशत हाराहारीले मात्र बढ्ने अनुमान गरिएको छ । गत आर्थिक वर्षभर कुनै समय निजी क्षेत्रले कर्जा माग्दा नपाउने अवस्था आयो भने कुनै समय निजी क्षेत्रले माग्ने अवस्थै रहेन ।
अर्थतन्त्रमा आएको सुस्तताको जड नै निजी क्षेत्रमा कर्जा लगानी नहुनु भएको विश्लेषकहरू बताउँछन् । पूर्व बैंकर भुवन दाहालले निजी क्षेत्रतर्फ कर्जा लगानी गर्न नसक्दा अर्थतन्त्रमा समस्या आएको बताए । ‘गत वर्ष पुससम्म बैंकलाई कर्जा दिन निकै गाह्रो अवस्था थियो । त्यसपछि भने केही सहज हुँदै गएको थियो । जेठ मसान्तसम्म कर्जा दिने पैसा त थियो, तर कतै लगानी नभई बसेको थियो,’ उनले भने, ‘माग हुँदा पनि ऋण दिने अवस्था थिएन । अर्थतन्त्रमा आएको सुस्तताको पहिलो कारण नै यही हो ।’ अर्थतन्त्रको शिथिलता बैंकबाट कर्जा जान नसक्दा सुरू भएको उनले बताए ।
पूर्व बैंकर दाहालले अहिले बैंकहरूसँग ऋण विस्तार गर्ने क्षमता भए पनि कर्जाको माग नहुनु चिन्ताको विषय रहेको बताए । अहिलेको समस्या समाधानका लागि अर्थमन्त्री, गभर्नर, बैंकर र निजी क्षेत्रको संयुक्त बैठक बसेर उपाय निकाल्नुपर्नेमा उनले जोड दिए । ‘केही दिनअघि उहाँहरूबीच छलफल भएको पनि थियो । ब्याज घटाउने कुरा थियो तर फेरि बढ्यो । यस्तो अवस्था कसरी आयो रु अब कसरी जाने भन्नेबारे गहन छलफल भए सहज अवस्था आउन सक्छ,’ उनले भने । मुद्दती निक्षेपको ब्याजदर ११ प्रतिशत पुगेको भन्दै उनले यसलाई ९ प्रतिशतमा झारे अवस्था केही सहज हुनेसमेत उल्लेख गरे ।
राष्ट्र बैंकका अनुसार गत आवमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२।७ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.३ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.३ प्रतिशत र ३६.७ प्रतिशत थियो । समीक्षा वर्षमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ३।५ प्रतिशत, विकास बैंकहरुको ७।६ प्रतिशत र वित्त कम्पनीहरुको ०।६ प्रतिशतले बढेको छ । राष्ट्र बैंकको तथ्यांकले अर्थतन्त्रको बाह्य क्षेत्र भने सबल बनेको देखाएको छ ।
गत आवको असार मसान्तसम्मको विवरणमा अर्थतन्त्रका बाह्य क्षेत्र सबल बनेको देखिएको हो । सो प्रतिवेदनले अर्थतन्त्रमा आशा जगाएको राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक एवं अर्थविद् नरबहादुर थापा बताउँछन् । ‘आन्तरिक अर्थतन्त्र सुधार्नका लागि सरकारले धेरै काम गर्न सक्ने अवस्था देखिएको छ,’ उनले भने । राष्ट्र बैंकबाट ओभरड्राफ्ट लिएर भए पनि सरकारले खर्च गर्न सक्ने उनी बताउँछन् । निर्माण व्यवसायीलाई भुक्तानी गरेमात्रै पनि अर्थतन्त्र चलायमान हुन सहयोग हुने उनको भनाइ छ । कुल विदेशी विनिमय सञ्चिति गत आवमा कुल विदेशी विनिमय सञ्चिति डलरमा २३.१ प्रतिशत बढेको छ । २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड अमेरिकी डलर रहेको यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७४ करोड डलर पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा २७.४ प्रतिशत बढ्दै १३ खर्ब ४५ अर्ब रुपैयाँ पुगेको छ । २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब सञ्चिति थियो । २०८० असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । आर्थिक वर्ष २०७९–८० को आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.७ महिनाको वस्तु आयात र १० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने प्रतिवेदनले जनाएको छ ।
२०८० असार मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपात क्रमशः २८.६ प्रतिशत, ८३.० प्रतिशत र २५.१ प्रतिशत रहेको छ। २०७९ असार मसान्तमा यी अनुपात क्रमशः २४.६ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत थिए । वैदेशिक व्यापार आर्थिक वर्ष २०७९–८० मा कुल वस्तु निर्यातमा २१.४ प्रतिशतले घटेको छ । प्रतिवेदनअनुसार गत आवमा १ खर्ब ५७ अर्बको वस्तु निर्यात भएको थियो । अघिल्लो आवमा यस्तो निर्यात ४१.७ प्रतिशतले बढेको थियो । गत आवमा १६ खर्ब ११ अर्बको कुल वस्तु आयात भएको छ ।
अघिल्लो आवको तुलनामा यो १६.१ प्रतिशत कम हो । अघिल्लो वर्ष यस्तो आयात २४.७ प्रतिशतले बढेको थियो । आव २०७९–८० मा कुल वस्तु व्यापार घाटा १५.५ प्रतिशतले घटी १४ खर्ब ५४ अर्ब कायम भएको छ । अघिल्लो वर्ष यस्तो घाटा २३ प्रतिशतले बढेको थियो । समीक्षा वर्षमा निर्यात–आयात अनुपात ९.७ प्रतिशत छ । चालु खाता र शोधानान्तर स्थिति आर्थिक वर्ष २०७९–८० मा चालु खाता ७२ अर्ब १६ करोड रुपैयाँले घाटामा छ ।
अघिल्लो वर्ष चालु खाता ६ खर्ब २३ अर्बले घाटामा थियो । गत आवमा शोधनान्तर स्थिति २ खर्ब ९० अर्ब रुपैयाँले बचतमा छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति २ खर्ब ५५ अर्ब रुपैयाँ घाटामा थियो । विप्रेषण आप्रवाह आर्थिक वर्ष २०७९–८० मा विप्रेषण आप्रवाह २१.२ प्रतिशतले बढ्दै १२ खर्ब २० अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह ४.८ प्रतिशतले बढेको थियो। उपभोक्ता मुद्रास्फीति आर्थिक वर्ष २०७९–८० मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ७.७४ प्रतिशत छ । अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति ६.३२ प्रतिशत थियो ।आजको कारोवारमा समचार छ ।
प्रतिक्रिया