विदेश पढ्न जाने ट्रेण्डले मोटो रकम बाहिरिदै , गत वर्ष १ खर्ब बढी बाहिरियो

विहीबार, ०७ भदौ २०८०, ०७ : ०४

काठमाडौं- पछिल्लो समय विदेश पढ्न जाने नेपाली विद्यार्थीहरुको संख्या दिनप्रतिदिन बढ्दो क्रममा छ। पछिल्लो एक वर्षको नेपाल राष्ट्र बैंकको तथ्याङ्कलाई हेर्दा यो संख्या झनै धेरै बढ्दै देखिन्छ।

अहिले प्लस २ वा ब्याचलर पढेर विदेश थप अध्ययनकालागि बिदेशमा जाने विद्याथीहरुको संख्या निकै धेरै छ। कोभिडपछि यस्तो संख्या झनै बढेर गएको छ। यसले गर्दा ठूलो मात्रामा नेपाली पैसा विदेशिने गरेको देखिन्छ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा विदेश पढ्न जाने विद्याथीहरुले १ खर्ब रुपैयाँभन्दा धेरै पैसा बाहिर लगेका छन्। यसले गर्दा पनि चालु खाता घाटामा दबाब परिरहेको तथ्याङ्कले देखाउँछ।

गत आर्थिक वर्षको असारसम्ममा चालु खाता ७२ अर्ब रुपैयाँले घाटामा थियो। नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्याङ्कले गत आर्थिक वर्षको साउनदेखि असारसम्ममा विदेश पढ्न जाने विद्यार्थीले १ खर्ब ४२ करोड भन्दा माथी नेपाली रुपैयाँ लगेका छन्।

आर्थिक वर्ष २०७८ र ७९ मा विदेश पढ्न जाने विद्यार्थीले ६७ अर्ब ७० करोड रुपैयाँ लगेको तथ्याङ्कमा उल्लेख छ भने २०७७ र ७८ मा २४ अर्ब ९५ करोड रुपैयाँ लगेका थिए। बैदेशिक अध्ययनका लागि जाने विद्यार्थीको सँख्या बढ्दै जाँदा यस बापत विदेशिने रकम पनि बढ्दै गएको छ। अहिले नेपाली विद्यार्थीहरुको रोजाइमा विशेषगरी अस्ट्रेलिया, अमेरिका, क्यानडा, जर्मनी, न्युजिल्यान्ड, जापानलगायतका देशहरु अध्ययनको लागि प्रमुख रोजाइमा पर्ने गरेका छन्। 

त्यस्तै पढाई बाहेक बिदेशमा भ्रमणका निमिक्त जाने गरेकाहरुबाट समेत मोटो रकम बाहिरीने गरेको छ । गत आर्थिक वर्षमा ६१ अर्ब भन्दा माथीको रकम भ्रमण खर्चमा बाहिरीएको छ । राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको असार मशान्तसम्ममा नेपालीहरुले ६१ अर्ब ५२ करोड रुपैयाँ बराबर भ्रमणमा खर्च खर्चाएका छन्। भ्रमण बापत बाहिरिने खर्च समेत अघिल्लो वर्षको तुलनामा ८९.६ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्याङ्कले देखाउछ। अघिल्लो वर्ष भ्रमण बापत ३२अर्ब ४४ करोड रुपैयाँ खर्च भएको थियो।

विहीबार, ०७ भदौ २०८०, ०७ : ०४

प्रतिक्रिया