प्रचारप्रसार बिहिन बनेको धार्मिक पर्यटकीय गन्तव्य कुँडहर कमलपोखरी

विशेष गरी दलित समूदायले यस क्षेत्रको संरक्षणका भूमिका खेल्दै आएका छन

विहीबार, ०७ भदौ २०८०, १० : २८

काठमाडौं-तालै तालको सहर पोखराका तालमध्येको एक हो कमलपोखरी । क्षेत्रफलका दृष्टिले सानो भए पनि धार्मिक पर्यटकीयरुपमा यसको विशिष्ट महत्व रहेको छ ।

पोखरा महानगरपालिका–१३ कुँडहरस्थित कमलपोखरी विश्व रामसार सूचीमासमेत सूचीकृत भइसकेको छ ।आजको कमल पोखरीको पुरानो नाम भने बुडुवाँ थियो, नाग र कमलको फूलका कारण छुट्टै गरिमा र महत्व बोकेको यस पोखरी पोखराको मुख्य बजार महेन्द्रपुलबाट करिब चार किलोमिटर दूरीमा पर्दछ । ढकमक्क कमलका फूलले ढाकिनुका साथै यहाँ नागको बासस्थान रहेको प्राचीन जनविश्वास रहेको कमलापोखरी संरक्षण समितिका अध्यक्ष केशबहादुर विश्वकर्माले बताउनुभयो । 

समितिका अध्यक्ष विश्वकर्माले पछिल्ला वर्षमा ताल अवलोकनका लागि पोखरा र आसपासका क्षेत्रबाट आन्तरिक पर्यटक आउने गरेको बताउँदै यसको संरक्षण र विकासमा राज्यको ध्यान पुग्नु जरुरी रहेकोमा जोड दिनुभयो । उहाँका अनुसार तालको दृश्यावलोनका साथै यहाँ पाइने विभिन्न प्रजातिका माछा, टाढाटाढाबाट आउने चराचुरुङ्गी यहाँका प्रमुख आकर्षण हुन् ।

कमलपोखरीलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा प्रवर्द्धन गरी विकासमा टेवा पुर्‍याउने उद्देश्यले राज्यस्तरबाट प्राथमिकतामा राखेर संरक्षण एवं विकासका योजना बनाइरहेको पोखरा महानगरपालिका–१३ का वडाध्यक्ष किरण बरालले जानकारी गराउनुभयो ।आजको अर्थसंग कुरा गदै अध्यक्ष बरालले “कमलपोखरीको संरक्षण एवम् पर्यटकीय विकासलाई लक्षित गरी यसको वरिपरी ‘फुटट्र्याक’ निर्माणका लागि वडाको पहलमा महानगरपालिकाबाट रू १८ लाख बजेट विनियोजन भएको छ”, बताउनु भय ।

कमलपोखरी क्षेत्रमा बर्सेनि डुबान हुँदा यहाँका स्थानीय प्रभावित भएकाले गण्डकी प्रदेश सरकारले बहुवर्षीय योजनाअन्तर्गत काहुँखोला डुबान क्षेत्रको रोकथामका लागि योजना अघि सारेको र सिद्धथान देखि घट्टेखोलासम्मको ड्याम निर्माणका निमिक्त बहुवर्षीय योजनाअन्तर्गत ८ करोड रुपैया बजेट बिनियोजन भएको वडाध्यक्ष बरालले जानकारी दिनुभयो । 

विश्व रामसार सूचीमा सूचीकृत रहेकाले पनि पछिल्लो समयमा यसको संरक्षण थप चासोको विषय बनेको छ । धार्मिक पर्यटकीय रुपमा उत्तिकै महत्व राख्ने कमलपोखरी परिसरमा प्रत्येक वर्षको नागपञ्चमीका दिन विशेष मेला लाग्ने गरेको कमलापोखरी संरक्षण समितिका सहसचिव प्रविण हर्मेलले जानकारी दिनुभयो । 

सहसचिव हर्मेलका अनुसार विशेष गरी दलित समूदायले यस क्षेत्रको संरक्षणका लागि निरन्तर प्रयास गर्दै आएको बताउँनु भयो १ यसको महत्वलाई प्रचारप्रसार गर्न भने नसकिएको उहाँको भनाई छ । कमलपोखरी तालको क्षेत्रफल सुरुमा ३८ रोपनी भए पनि पछिल्ला वर्षमा अतिक्रमणको सिकार बनेकाले यसको क्षेत्रफल ३२ रोपनी रहेको जानकारी गराउनुभयो । “पछिल्लो समय अतिक्रमणका कारण करिब छ रोपनी क्षेत्रफल कम देखिएको छ”, उहाँले भन्नुभयो, “अहिले ताल वरपर तारबार गरिएको छ ।”

विसं २०६४ मा गठित कमलपोखरी संरक्षण समितिको पहलमा तालको संरक्षण एवं प्रवर्द्धनका क्षेत्रमा काम गरिरहेको समितिका अध्यक्ष विश्वकर्माले बताउनुभयो । उहाँका अनुसार कमलपोखरी चार दशक अघिसम्म बुडुवा तालका नामले परिचित थियो । प्राचीनकालमा ताल रहेको क्षेत्रमा पानीसँगै झारले ढाकिएको थियो ।

पछिल्लो समय यस स्थानको धार्मिक महत्व रहेको थाहा पाएपछि संरक्षणका लागि स्थानीयले थप पहल अगाडि बढाएको अध्यक्ष विश्वकर्माले बताउनुभयो । उहाँका अनुसार कमलपोखरीसम्म आउने बाटो नहुँदा स्थानीय कालेजैसी गोतामे, अमिन शेरबहादुर कार्की र धनपति तिमल्सिनाले जग्गा दिएपछि बाटो खोलिएको थियो । बाटो सञ्चालनमा आएसँगै यसस्थलमा नागको मन्दिरलगायतका अन्य भौति पूर्वाधार निर्माण थालिएको उहाँले जानकारी दिनुभयो ।

विहीबार, ०७ भदौ २०८०, १० : २८

प्रतिक्रिया