काठमाडौँ - नेपाल पर्यटन बोर्ड तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)सँगको सहकार्यमा सञ्चालित जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) ले प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) गोल्ड अवार्ड–२०२३ प्राप्त गरेको छ।
पर्यटनका माध्यमबाट महिला सशक्तीकरणमा गरेको पहलकदमी दिगोपन तथा सामाजिक उत्तरदायित्वका लागि पाटाले नेपाल पर्यटन बोर्डरएसटीएलआरपीलाई पाटा गोल्ड अवार्ड–२०२३ प्रदान गरेको हो। पाटा हेडक्वाटरले हिजो विज्ञप्ति जारी गर्दै यो अवार्ड प्रदान गरेको जानकारी दिएको छ।
यो परियोजनाले यसअघि २०२२ मा पनि टुरिजम डेस्टिनेसन रेसिलेन्सी विधाअन्तर्गत पाटा गोल्ड अर्वाड प्राप्त गरेको थियो। यस्तै २०२३ मा पनि पाटाबाट स्पेसल पाटा अवार्डसमेत प्राप्त गरेको थियो।
सन् १९९५ बाट शुरु भएको यो अवार्ड यसपाली विभिन्न २३ वटा संघसंस्थालाई विभिन्न विधामा प्रदान गरिएको छ। यो पुरस्कार अक्टोबर ५ मा नयाँदिल्लीमा आयोजना हुने पाटा टार्भल मार्ट २०२३ को अवसरमा प्रदान गरिने नेपाल पर्यटन बोर्डका निर्देशक तथा परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक मणीराज लामिछानेले जानकारी दिए।
पाटा अवार्ड प्राप्त गर्नुले परियोजनाले गरिरहेका कामको मूल्यांकन भएको र बोर्डलाई थप कार्य गर्ने प्रोत्साहन मिलेको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा परियोजनाका राष्ट्रिय निर्देशक डा। धनञ्जय रेग्मीले बताए। ‘हामीले कोभिडको असरसँगै पर्यटकको उद्धारदेखि जनशक्ति विकास तथा केही पूर्वाधार विकासमा कार्यहरु निरन्तर गर्दै आइरहेका छौँ’, उनले भने, ‘यसले थोरै भए पनि जनशक्ति उत्पादन तथा रोजगारी सिर्जनामा सहयोग गरेको छ। हामीले गरेका कामहरुले मूल्यांकन गर्दै निरन्तर विभिन्न अन्तर्राष्ट्रिय अवार्डहरु प्राप्त गरेका छौँ। यसले हामीलाई थप कार्य गर्न प्रोत्साहन मिलेको छ।’
यस्तै पर्यटकको खोज तथा उद्धारमा खोजमा गरेको योगदानको कदरस्वरुप पनि बोर्डले विभिन्न राजदूतावास तथा अन्तर्राष्ट्रिय संस्थाहरुबाट सम्मानप्राप्त गरेको थियो।
प्रतिक्रिया