आधुनिक प्रविधि सहितको पशुपालनसम्बन्धी राप्तीका किसानलाई तालिम

शनिबार, ०९ भदौ २०८०, ०८ : ४८

काठमाडौं- राप्ती नगरपालिकाका किसानलाई पशुपालनसम्बन्धी तालिम दिन शुरू गरेको  छ ।

शहीद बलराम दुग्ध उत्पादक सहकारी संस्था र एबी प्यालेट फिड प्रालिको संयुक्त आयोजनामा तालिम बुधबारदेखि शुरू भएको हो । तालिमको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष किशोर बगालेले उद्घाटन गरे। 

सो अवसरमा बोल्दै बगालेले आधुनिक प्रविधिको प्रयोग गरेर पशुपालन व्यवसाय गर्नुपर्ने बताए । ‘हामी पुरानै शैली र परम्परामा पशुपालन गर्दै आएका छौं,’ संस्थाका अध्यक्ष बगालेले भने, ‘लागत घटाउन हाम्रो ध्यान जानुपर्छ, त्यसका लागि नयाँ र आधुनिक प्रविधि अवलम्बन गर्नुपर्छ ।’ 

जिल्ला अध्यक्ष बगालेले पशुपालन गर्ने किसानले तीनै तहको सरकारबाट आवश्यक सहयोग पाउन नसकेको समेत बताएका छन् । शहीद बलराम दुग्ध उत्पादन सहकारी संस्थाका अध्यक्ष छविलाल भुसालले जीवनभर पशुपालन गरे पनि धेरै कुराको जानकारी नहुने हुँदा तालिम प्रदान गरिएको बताए । 

नयाँ प्रविधि, उन्नत जात, रोग, आहार लगायतबारे जानकारी गराउने उद्देश्यले तालिम दिइएको उनले बताए । तालिमको पहिलो दिन राप्ती नगरपालिका पशुपक्षी विकास शाखा प्रमुख शैलेन्द्र भण्डारीले स्थानीय सहकारी ऐनका बारेमा जानकारी गराएका थिए । किसानको संख्या धेरै भएकाले दुई चरणमा तालिम सञ्चालन गरिएको संस्थाका व्यवस्थापक उदयराज पन्तले बताए ।

शनिबार, ०९ भदौ २०८०, ०८ : ४८

प्रतिक्रिया