बिद्युत प्राधिकरणले चुक्ता पूँजी बढाउन शेयर निष्कासन गर्ने योजना

७ महिना अगाडि

काठमाडौं- नेपाल बिद्युत प्राधिकरणले आफ्नो चुक्ता पूँजी बढाउने योजना अघि सारेको छ। आगामी पाँच बर्ष भित्र चुक्ता पूँजी बढाएर तीन खर्ब पुर्याउने प्रस्ताव सरकार समक्ष अघि सारेको छ।

प्राधिकरणले गरेको प्रस्तावमा १० प्रतिशत शेयर निष्कासन गर्ने भनेको छ। प्रिमियममा शेयर निष्कासन गर्ने योजनामा प्रधिकरण छ। चुक्ता पूँजी बढाउनेदेखि शेयर निष्कासन गर्नेसम्मको प्रस्ताव प्रधिकरणको संचालक समितिले पास गरिसकेको छ। संचालक समितिले गरेको उक्त निर्णय सहितको प्रस्ताव यतिबेला सहमतिको लागि अर्थ मन्त्रालयमा पठाइ सकिएको छ।  “हामी पब्लिकमा जाने हो। त्यो पनि प्रिमियममा जाने हाम्रो प्रस्ताव छ। सहमति भएर आयो र क्याबिनेटबाट स्वीकृत भएपछि मात्रै प्रक्रिया अघि बढ्छ,” प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । 

प्राधिकरणले ६० देखि ७० अर्बसम्मको शेयर निष्कासन गर्ने गरि प्रस्ताव गरिएको छ। प्राधिकरणले बनाएको योजना अनुसार उसले प्रति शेयर एक सय रुपैयाँमा एक सय २० रुपैयाँदेखि एक सय ५० रुपैयाँसम्म प्रिमियम थप्ने छ। त्यस आधारमा प्राधिकरणको शेयर दुई सय २० रुपैयाँदेखि दुई सय ५० रुपैयाँसम्ममा निष्कासन हुने छ। त्यसको लागि धितोपत्र बोर्डले समेत स्वीकृति दिनु पर्ने छ।

 प्राधिकरणलाई धितोपत्र बोर्डले स्वीकृतिमा कुनै ढिलाइ गर्ने छैन। किनकि धितोपत्र बोर्डले नै प्राधिकरणलाई शेयर निष्कासन गर्न प्रोत्साहित गरिरहेको छ। बोर्डमा अध्यक्ष भएर आएदेखि नै बोर्ड अध्यक्ष रमेश हमाल प्राधिकरणको शेयर निष्कासन गर्ने बिषयमा लागि परेका छन्। उनले सार्वजनिक कार्यक्रममा समेत प्राधिकरण शेयर निष्कासन गर्न पोजेटिभ रहेको र चाडै उसले शेयर निष्कासन गर्ने भन्दै आइरहेका छन्।

प्राधिकरणलाई शेयर निष्कासन गर्न सरकारले सहमति दिएमा अरु संस्थानलाई पनि पब्लिकमा जान बाटो खुला हुनेछ। जसमा नेपाल स्टक एक्सचेन्ज पनि शेयर जारी गर्ने सूचीमा आउन सक्छ। किनकि नेप्सेले पनि शेयर निष्कास गर्ने प्रस्ताव अर्थ मन्त्रालय पठाएको छ।
 

७ महिना अगाडि

प्रतिक्रिया