एमजी कमेट इभि र एमजि ४ इभि नेपाली बजारमा

७ महिना अगाडि

काठमाडौँ - नेपाली अटो बजारमा केही समयदेखी चर्चा कमाउँदै आएका एमजी–४ र कमेट ईभीको मूल्य आज सार्वजनिक भएको छ । एमजी गाडीको नेपालका लागि आधिकारिक वितरक पारमाउन्ट मोटर्सले आइतवार एक कार्यक्रमको आयोजना गरी यी दुई ईभीको मूल्य सार्वजनिक गरेको हो ।

 पारामाउन्टले कमेट इभीको शुरुवाती मूल्य १७ लाख ९९ हजार र २० लाख ९९ हजार निर्धारण गरेको छ भने एमजी–४ को ४१ लाख ४९ हजार र ५८ लाख ९९ हजार तोकेको छ । कमेट प्ले र पेस गरी दुई भेरिएन्टमा उपलब्ध हुनेछ भने एमज–४ पनि कम्फर्ट र लक्जरी गरी दुईवटै भेरिएन्टमा उपलब्ध हुनेछ ।

यी दुई ईभीमा कमेट भारतमा वनेको हो भने एमजी–४ लाई चीनबाट आयत गरी ल्याईएको हो । मिनी ईभी कमेटमा एमजीले १७।३ किलोवाट आवरको ब्याट्री र ३१।२६ किलोवाटको मोटर जडान गरेको छ । यो ईभीलाई एकपटकको सिंगल चार्जमा २३० किलोमिटर चलाउन सकिने दावी गरिएको छ ।

कमेटमा यात्रुको सुरक्षाका लागि आईपी–६७ रेटेड ब्याट्री, डुअल फ्रन्ट एयर व्याग, रियर पार्किङ सेन्सर र सवै यात्रुका लागि सिट वेल्टहरु राखिएको छ । सुविधा र सहजताका लागी यसमा एलसिडी स्क्रिन, रिमोट कन्ट्रोल लकिङ, म्यानुअल एसि र हिटर लगायत फिचर पाउन सकिन्छ । कम्पनीले यसको ब्याट्रीमा १ लाख २० हजार किलोमिटरसम्म अर्थात ८ वर्ष र हाई भोल्टेज कम्पोनेन्टमा १ किलोमिटरसम्म अर्थात ३ वर्षको वारेन्टि प्रदान गर्ने बताएको छ ।

यसैगरी एमजी–४ को कम्फर्ट भेरिएन्टमा ५१ किलोवाट आवर क्षमताको ब्याट्री र ९९ किलोवाट मोटर एवं लक्जरी भेरिएन्टमा ६४ किलोवाट आवरको ब्याट्री र १५० किलोवाट मोटर पाउन सकिन्छ । सिंगल चार्जमा यसले ४३५ किलोमिटरसम्म रेन्ज दिने दावी गरिएको छ ।

हेर्दा निकै नै आकर्षक देखिने एमजी–४ ‘युके कार अफ द इयर–२०२३’ बाट सम्मानित ईभी हो भने यसले युरो एनक्यापमा ५ स्टार रेटिङ हात पारेको छ । यो ईभीको प्रमुख विशेषताका रुपमा इन्डिभिजुअल सस्पेन्सन र रियर ह्विल ड्राइभलाई लिने गरिएको छ । यो फिचर नेपाली बजारमा उपलब्ध यहि सेग्मेन्टका अन्य ईभीमा पाउन नसकिने कम्पनीको दावी छ ।

यात्रुहरुको सुरक्षाका लागि यसमा रियर आइसोफिक्स, रिभर्स क्यामेरा, फ्रन्ट साइड एयर व्याग, टायर प्रेसर मनिटरिङ सिस्टम र सिट बेल्ट रिमाइन्डर जस्ता फिचर दिइको छ । साथै यसमा मोबाइल फोन ब्लुटुथ की, ५ वटा ड्राइभिङ मोड र टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम लगायत कम्फर्ट फिचर पाउन सकिन्छ ।

एमजी–४ को ब्याट्रीमा १ लाख ५० हजार किलोमिटरसम्म अर्थात ८ वर्षको वारेन्टि र हाई भोल्टेज कम्पोनेन्टमा १ लाख किलोमिटरसम्म अर्थात ३ वर्षको वारेन्टि पाउन सकिने कम्पनीले जनाएको छ ।

यसअघि एमजी जेडएस ईभी भित्र्याएर कारोवार गर्दै आएको पारामाउन्ट मोटर्सले हाल नेपालभर एसी र डिसी गरी १९ वटा आफ्नै चार्जिङ पूर्वाधारबाट सेवा दिँदै आएको छ । यस वर्षको अन्त्यसम्ममा कम्पनीले यस्तो पूर्वाधारलाई विस्तार गरेर ५० वटासम्म पुर्याउने लक्ष्य लिएको छ ।

Open photo

७ महिना अगाडि

प्रतिक्रिया