स्वस्तिक रोलिङ मिल्सले पायो टाटा आइरन एन्ड स्टिलको बेस्ट भ्यालुड कस्टमर अवार्ड विराटनगर सुनसरीको स्वस्तिक रोलिङ मिल्सले भारतको टाटा आइरन एन्ड स्टिल कम्पनीबाट बेस्ट भ्यालुड कस्टमर अवार्ड पाएको छ।
कोलकाताको ओबराय ग्रान्ड होटलमा आयोजित कार्यक्रममा टाटा स्टिलका प्रबन्ध निर्देशक आशिष अनुपमले स्वस्तिक रोलिङका निर्देशक रमेश राठीलाई अवार्डले सम्मानित गरेका हुन् । सुनसरीको स्वस्तिक रोलिङ मिल्सले ‘बजरंग’ ब्रान्डमा टीएमटी छडको उत्पादन गरिरहेको छ । स्वस्तिक रोलिङ मिल्सले व्यावसायिक उत्पादनको छोटो समय भित्रै टाटा आइरन एन्ड स्टिलबाट अवार्ड लिन सफल भएको छ ।
उद्योगले ‘बजरंग’ ब्रान्डमा टीएमटी छडका साथ एंगल, च्यानल र आई बिमको पनि उत्पादन गरिरहेको छ । एंगल, च्यानल र आई बिमको प्रयोग साना–ठुला सबै खाले घर बनाउन, घरमा ट्रस हाल्न, विद्युत् प्रसारण लाइनको टावर बनाउन, इन्टरनेट र रेडियोको टावर बनाउन, साना–ठुला सेड बनाउन लगायत विविध प्रयोजनमा गरिन्छ ।
निर्देशक राठीले केही समययता उद्योगले टीएमटी छडको उत्पादन र बजारीकरणलाई प्राथमिकतामा राखेको र ७ देखि ४० एमएम सम्मका छडको उत्पादन गरिरहेको जानकारी दिएका छन् । बजरंग ब्रान्डका छडहरूको ग्रिपिङ उच्च स्तरको भएकाले यसले मसला बलियो गरी समात्न सक्ने निर्देशक राठीको भनाइ छ । ‘हामी गुणस्तरप्रति सचेत छौं। छोटो समयमा हामीले अवार्ड पाउनुको कारण पनि यही हो,’ निर्देशक राठीले भने ।
टाटा स्टिल भारतको ठूलो र ब्रान्डेड फलाम उद्योग हो । यसले फलामका गुणस्तरीय मालवस्तु र कच्चा पदार्थको उत्पादन गर्दै आएको छ । यसका सबै उत्पादन भारतमा अन्य उद्योगका उत्पादनका तुलनामा गुणस्तरीय मानिन्छन् । स्वस्तिक रोलिङले बिलेट उत्पादन गर्न आवश्यक पर्ने कच्चा पदार्थ स्पन्ज आइरन टाटा स्टिलबाटै आयात गरिरहेको छ। टाटा स्टिलको स्पन्ज आइरन संसारमै स्तरीय मानिन्छ ।
प्रतिक्रिया